थापाथलीमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु

थापाथलीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

काठमाडौँ– काठमाडौँ महानगरपालिका–११ थापाथलीमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

माइतीघरबाट थापाथलीतर्फ जाँदै गरेको बा२८प ४८६७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मधेश प्रदेश००३–००१क २५१९ नम्बरको पानी ट्यांकरले ठक्कर दिएको थियो।

सो ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार ६२ वर्षीय सरस्वती तुलाधरको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्यांकरको ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा नर्भिक इन्टरनेसनल अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। 

घट्टेकुलो निवासी मोटरसाइकलका चालक ६९ वर्षीय ध्रुवराज तुलाधर घाइते भएका छन्। ठक्कर दिने ट्यांकरका चालक धादिङ गजुरीका रामकुमार तामाङलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता विश्वराज खड्काले जानकारी दिए।