वायनाड पहिरोमा फसेकामध्ये २१५ को शव फेला, २०६ व्यक्ति अझै बेपत्ता

पहिरो प्रभावित वायनाडमा फसेकामध्ये २१५ जना मृत फेला परेको र २०६ व्यक्ति अझै बेपत्ता रहेको केरलाका मुख्यमन्त्री पिनाराई विजयनले बताएका छन्।

भारतको केरलास्थित पहिरो प्रभावित वायनाडमा फसेकामध्ये २१५ जना मृत फेला परेको र २०६ व्यक्ति अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्। 

मुख्यमन्त्री पिनाराई विजयनले उद्धार कार्य अन्तिम चरणमा रहेको बताए। “पहिरोमा फसेकामध्ये २१५ जनाको उद्धार गरिएको छ भने २०६ जना अझै बेपत्ता रहेका छन्। पहिरोमा परी घाइते अवस्थामा उद्धार गरिएका ८३ जनाको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको र कुल १० हजार ४२ जनालाई आश्रय शिविरमा सारिएको छ,” उनले भने।  

केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जका अनुसार ९८ पुरुष, ८७ महिला, ३० बालबालिका गरी २१५ जनाको मृत शरीर पहिरोबाट निकालिएको र १४३ शरीरका अंग भेटिएको छ। हालसम्म २१२ शवको पोस्टमार्टम प्रक्रिया पूरा भएको छ। 

मुख्यमन्त्री विजयनले प्रारम्भिक चेतावनी प्रणालीलाई परिमार्जन गर्न आवश्यक रहेको बताए। जलवायु परिवर्तनको ढाँचालाई ध्यानमा राखेर वर्णनात्मक चेतावनी प्रणालीको विकास गर्नुपर्ने उनको भनाइ छ।

पहिरोले पूरै भत्किएको छुरलमालाको बस्तीलाई सारी अर्को बस्ती निर्माण गर्नुपर्ने आवश्यकता देखिएको मुख्यमन्त्री विजयनले बताए। 

यसैबीच, वायनाडबाट लोकसभामा निर्वाचित विपक्षी नेता राहुल गान्धीले चुरलमालामा १०० घर निर्माण गर्ने घोषणा गरेका छन्।

कर्नाटकका मुख्यमन्त्री सिद्धरामैँयाले पनि १०० घर निर्माण गर्ने प्रस्ताव गरेका छन्। मुख्यमन्त्री दैवी प्रकोप राहत कोषमा चन्दा नेट बैंकिङमार्फत गर्न सकिने उनको भनाइ थियो।