सामाजिक सुरक्षा कोषमा आबद्ध हुने तर निरन्तरता नदिने क्रम बढ्दो

कोषको योजनामा हालसम्म १५ लाख ११ हजार ८०५ जना आबद्ध छन्। जसमा वैदेशिक रोजगारीमा जानेको संख्या १० लाख ११ हजार ८०५ जना छ।

काठमाडौँ– वैदेशिक रोजगारीमा गएकाहरू सामाजिक सुरक्षा कोषमा आबद्ध भए पनि त्यसलाई निरन्तरता नदिएको कोषले जनाएको छ।

कोषका अनुसार कोषमा योगदान गरेर वैदेशिक रोजगारीमा गएकामध्ये दुई/तीन प्रतिशतले मात्रै निरन्तरता दिएका छन्।

श्रम स्वीकृति लिएर जानेको सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या १० लाख नाघेको छ। कोषमा हाल जम्मा भएको रकम हेर्दा पनि कसैले पनि एक पटकभन्दा बढी रकम जम्मा नगरेको तथ्यांकले देखाउँछ। कोषमा दुई अर्ब ३२ करोड ७१ लाख ५१ हजार रकम जम्मा भएको छ। 

कोषको योजनामा हालसम्म १५ लाख ११ हजार ८०५ जना आबद्ध छन्। जसमा वैदेशिक रोजगारीमा जानेको संख्या १० लाख ११ हजार ८०५ जना रहेको छ भने औपचारिक क्षेत्रका पाँच लाख १६ हजार ७७७ जना आबद्ध भएका छन्।

वैदेशिक रोजगारीमा जानेलाई यसको फाइदाबारे जानकारी दिन नसक्नुले पनि निरन्तरतामा समस्या भएको हुनसक्ने कोषले जनाएको छ। अब यसलाई अभियानकै रूपमा अघि बढाउने कोषको तयारी छ। 

वैदेशिक रोजगारीमा नयाँ जाने श्रमिक श्रम स्वीकृतिपूर्व कोषको योजनामा अनिवार्य आबद्ध हुने गरेका छन्। वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिक श्रम स्वीकृति लिने बेला र श्रम स्वीकृति नवीकरण गर्ने बेलामा योजनामा समावेश हुनसक्ने छन्।