वर्षाले रोकिएको नारायणगढ–बुटवल सडक विस्तारको काम कात्तिक १५ पछि मात्र

सडक कालोपत्र र विस्तारको काम कात्तिक १५ देखि मात्र सञ्चालन गर्ने गरी समयतालिका निर्माण कम्पनीले सरकारी पक्षलाई उपलब्ध गराएको छ।

नवलपरासी– नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ। नेपालमा मनसुन शुरू भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम शुरू गर्ने गरी कार्यतालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो।

सडक निर्माणका लागि यही साउन १० गते पुनः एक वर्ष म्याद थप भए पनि अहिले सडक विस्तारको काम भने रोकिएको छ। नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्ने खण्डमा अहिले सामान्य सडक मर्मत कार्यबाहेक अन्य काम ठप्प रहेको छ।

बर्खाका कारण यो समयमा सडक कालोपत्र र विस्तारको काम नभए पनि पर्खाल निर्माण र मर्मतको काम भइरहेको नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालले बताए।

“सडक विस्तारको काम पूर्ण रूपमा बन्द छ भन्न त मिल्दैन तर यो समयमा सडक कालोपत्र बाहेकको सामान्य पर्खाल निर्माण र खाल्डाखुल्डी मर्मतका लागि पूर्वी खण्डमा ६४ जना कामदार खटिएका छन्”, उनले भने।

सडक कालोपत्र र विस्तारको काम कात्तिक १५ देखि मात्र सञ्चालन गर्ने गरी समयतालिका निर्माण कम्पनीले सरकारी पक्षलाई उपलब्ध गराएको छ। योबीचमा मर्मत र पर्खाल निर्माण गर्ने गरी कार्यतालिका पेश गरेको भए पनि सोअनुसारको काम पनि अहिले सडकमा भएको देखिएको छैन। 

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिले सडक विस्तारको काम मनसुन शुरू भएदेखि नै रोकेको थियो। यसअघि थपिएको म्याद यही साउन ८ गते सकिएपछि सरकारले थप एक वर्षका लागि म्याद थपिदिएको हो। 

निर्माण कम्पनीले दुई पटक म्याद थप्दा पनि काम नसकेपछि सरकारले तेस्रो पटक म्याद थपेको हो। छोटो अवधिका लागि म्याद थप भए पनि निर्माण प्रगति हेर्दा थप म्यादमा पनि कार्यसम्पन्न हुनेमा आशंका गरिएको छ। इन्जिनियर खनालले भने यो अन्तिम पटकका लागि म्याद थप भएकाले निर्माण पक्षले समयमै काम सक्ने अपेक्षा लिएको बताए। 

निर्माण कम्पनीले सरकारी पक्षलाई दिएको जानकारीअनुसार पूर्वी खण्डमा कामदार र कर्मचारीसहित १९८ जना खटिएका छन्। वर्षाले सडकमा पहिरो जाने र अवरुद्ध हुनसक्ने स्थानमा प्राथमिकता दिएर कामदार खटाएको निर्माण कम्पनीले जनाएको छ। 

“सरकारले यो पटकको म्यादलाई अन्तिम पटक भनेकाले ठेकेदार कम्पनीले यसलाई अन्तिम अवसर ठानेर काम गर्ने छ भन्ने हामीले ठानेका छौँ”, इन्जिनियर खनालले भने।  

अघिल्लो वर्ष म्याद थप हुँदा सडकको भौतिक प्रगति ४२ प्रतिशत थियो। सडकको भौतिक प्रगति अहिले पूर्वी खण्डमा ५२ प्रतिशत रहेको इन्जिनियर खनालले जानकारी दिए। ११३ किमी सडकमध्ये ७० किमी चार लेन, २९ किमी चार लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमी तीन लेन, ६४ पुल, ४६२ कल्भर्टलगायत संरचना निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको यो आयोजनामा हालसम्म २६.५ किमी चार लेन र २२ किमी दुई लेन सडक कालोपत्र, ४२ पुल र ३८० कल्भर्ट निर्माण गरिएको छ।

विसं २०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्ने गरी २०७५ चैतमा यस सडक विस्तारको शिलान्यास गरिएको थियो। सडक विस्तारको काम समयमै सम्पन्न नहुँदा यो सडकखण्डको यात्रा निकै कष्टकर हुने गरेको छ।