काभा भलिबल : नेपाल इरानसँग पराजित

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगमा नेपाल इरानसँग पराजित भएको छ।

काठमाडौँ– सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगमा नेपाल इरानसँग पराजित भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा इरानले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो। इरानको दोस्रो जित हो भने नेपालको पहिलो पराजय हो।

पहिलो, तेस्रो र पाँचौँ तथा निर्णायक सेट इरानले जित्यो भने नेपालले दोस्रो र चौथो सेट मात्र जित्यो। नेपालले पहिलो सेट २५–१६ ले गुमायो। दोस्रो सेट १६–२५ ले आफ्नो पक्षमा पारेको नेपालले तेस्रो सेट २५–२३ ले इरानलाई सुम्पियो। चौथो सेट नेपालले १५–२५ ले जित्दा र पाँचौँ तथा निर्णायक सेट १५–१३ ले जित्दै इरान विजयी भयो।

नेपालले यसअघि भारतलाई ३–२ को सेटले र श्रीलंकालाई ३-० को सेटले पराजित गरेको थियो। नेपाल आफ्नो समूहको अन्तिम खेल सोमबार माल्दिभ्ससँग खेल्ने छ।

श्रीलंकाले माल्दिभ्सलाई हरायो
श्रीलंकाले काभा महिला नेसन्स लिगमा पहिलो जित दर्ता गराएको छ। राखेप कभर्डहलमा आइतबार भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।

श्रीलंकाले माल्दिभ्समाथि खेलको पहिलो सेट २५-२२ ले जित्यो भने दोस्रो सेट २५-१२ ले आफ्नो पक्षमा पार्‍यो। त्यस्तै खेलको तेस्रो सेट २५-१६ ले जितेपछि प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। जितसँगै श्रीलंकाले सेमिफाइनल यात्रा तय गरेको छ। पराजित माल्दिभ्स भने सेमिफाइनल होडबाट बाहिरियो।

श्रीलंकाले यसअघि नेपालसँग ३-० र इरानसँग ३-२ सेटमा पराजय बेहोरेको थियो। माल्दिभ्स भने यसअघि भारत र इरानसँग समान ३-० को सेटमा पराजित भएको थियो।