काठमाडौँको कालोपुलबाट हत्याको अभियोगमा २ जना पक्राउ

प्रहरीले काठमाडौँ महानगरपालिका–७ कालोपुलबाट श्रीमान‍्को हत्या अभियोगमा श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौँ– प्रहरीले काठमाडौँ महानगरपालिका–७ कालोपुलबाट हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले २० वर्षीय प्रेम महत दर्जीको हत्या गरेको अभियोगमा प्रहरीले उनकी श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको हो। महतको आइतबार बिहान हत्या भएको प्रहरीको भनाइ छ।

पक्राउ पर्नेमा ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–९ माधबपुर घर भएकी २४ वर्षीया उषा नेपाली रहेकी छन्। त्यस्तै, हत्यामा संलग्न रहेको आशंकामा सोही ठाउँका २७ वर्षीय मदन रम्तेललाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार प्रेम र उषा कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा कोठा भाडामा लिई एक महिनादेखि बस्दै आएका थिए। प्रेम आइतबार मृत अवस्थामा फेला परेपछि उषा र मदनलाई पक्राउ गरिएको उनले बताए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।