यस्तो रहनेछ सोमबारको माैसम

मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

फाइल तस्वीर

काठमाडाैँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी तराईका भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ।

सोमबार दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा  मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, आज राति पनि देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एक/दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको माैसम पूर्वानुमान गरिएको छ।