मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ।

चितवन: नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ। हिजो आइतबार दिनभर नियन्त्रणमा लिने प्रयास गरिएको भए पनि साँझ अबेर मात्रै बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो।

नारायणगढस्थित मानवबस्ती नजिक नारायणी किनारमा रहेको अन्दाजी पाँच वर्षको भाले बाघलाई नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ भेटेनरी चिकित्सक डा विजयकुमार श्रेष्ठले जानकारी दिए। निकुञ्जका तीन वटा हात्तीको सहयोगमा बाघलाई घेरा हालेर नियन्त्रणमा लिइएको हो।

शुरूमा प्रयोग गरिएका दुई वटा हात्ती तर्सिएर भागेपछि थप हात्ती ल्याएर बाघ नियन्त्रणमा लिइएको हो। डार्ट गरिएको बाघलाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको खोरमा लगेर राखिने उनले बताए।

नारायणी नदी किनारमा नदीमा मिसिनुअघि ढललाई प्रशोधन गर्न बनाइएको ट्यांकरहेको क्षेत्रको नर्कटको झाडीबाट निकुञ्जका कर्मचारी, प्रहरी प्रशासनको सक्रियतामा बाघलाई नियन्त्रणमा लिइएको हो। 

उक्त बाघले आइतबार बिहान भरतपुर महानगरपालिका वडा नम्बर २ बेलटाँडीका ६० वर्षिय पशुपति श्रेष्ठलाई आक्रमण गरेको थियो। बाघको आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइते श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ।