पहिरोको त्रासले सक्ने जतिले गाउँ नै छाडेर अन्यत्र बसाइँ सरेका छन्। तर आयस्तर कम भएका धेरैले आफ्नो जीवन जोखिममा राख्दै यही पहिरो हेर्दै दैनिकी कटाइरहेका छन्।
मध्यविन्दु– बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ। बाजेको पालादेखि राम्चेगाउँमा बस्दै आएका उनलाई बर्सेनि पहिरोले बस्ती क्षेत्रको जमिन कटान गर्दै लगेकाले कुनै दिन गाउँ नै पहिरोले बगाउला भन्ने त्रासले रात कटाउन मुस्किल पर्ने गरेको छ।
“गाउँको शिरमा भिर छ। त्यही भिर कतिबेला खस्ने हो भन्ने सधैँभरिको पिर छ। पानी पर्यो कि त बस्ती बगाउने हो कि भन्ने चिन्ताले रातमा निद्रा नै पर्दैन,” उनले भने। हुप्सेकोट गाउँपालिका–५ को राम्चेगाउँको सिरानमा राम्चेभिर छ। केरुंगेखोलाको मुहानमा रहेको राम्चेको पहिरोले जयबहादुर चितौरे मात्र होइन राम्चेगाउँका ३५ घरपरिवार बर्खा लागेसँगै पहिरोका डरमा बस्न बाध्य भएका छन्। हुप्सेकोट गाउँपालिका–५ को राम्चेगाउँ पहिरोको उच्च जोखिममा छ। गाउँ नजिकै बर्सेनि सानाठूला पहिरो जान थालेपछि डाँडो नै खस्ने खतरा बढ्दै गएको स्थानीय बताउँछन्।
राम्चे पहिरो २०३८ सालमा काउले बस्ती नै विस्थापित हुनेगरी गएका कारण अहिले पनि सो क्षेत्रका अन्य बस्ती पहिरोको जोखिममा पर्दै आएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदम रानाले बताए। “पहिरोका कारण कच्ची सडक पनि भत्किराख्ने र जमिनमा धाँजा फाट्ने गरेको छ। बर्खामा मात्र होइन, हिउँदमा पनि सुक्खा पहिरोले सताउने गरेको छ,” उनले भने, “राम्चेवासी बर्खामा मात्र होइन, अन्य समयमा पनि रातदिन त्रासमा बाँच्नुपरेको छ।”
पहिरोको त्रासले सक्ने जतिले गाउँ नै छाडेर अन्यत्र बसाइँ सरेका छन्। तर आयस्तर कम भएका धेरैले आफ्नो जीवन जोखिममा राख्दै यही पहिरो हेर्दै दैनिकी कटाइरहेका छन्। स्थानीयवासीले सरकारले सुरक्षित स्थानमा बस्ती सारिदिने आशा भने मारेका छैनन् । “सुक्खा पहिरोसमेत गएर गाउँको नजिकै धेरै धाँजा फाटेको छ। ठूलो पहिरोले कतिबेला गाउँ नै सोहोरेर लैजान्छ भन्ने डर र त्रासमा स्थानीय बासिन्दाले दैनिकी कटाइरहेका छन्,” स्थानीय आसबहादुर चितौरे मगरले भने।
पहिरोकै कारण एकपछि अर्को संरचनासँगै गाउँ नै सखाप पार्ने पहिरो नियन्त्रण गर्न माग गर्दा पनि कसैले नसुनेको स्थानीयको भनाइ छ। पहिरो रोक्न केही बजेटसहित तारजालीको काम हुने गरे पनि त्यो प्रभावकारी बन्न नसकेको अर्का स्थानीय हरि मगरले बताए। “पहिरो रोक्नै नसक्ने खालको छ, बजेटमात्र सकिने भएकाले पनि हामीलाई अन्तै सारिदिनुपर्यो,” उनले भने, “पहिरो रोक्नका लागि सरोकारवालालाई भनेको वर्षौं भयो तर कतैबाट पनि सुनुवाइ भएन।” हुप्सेकोट गाउँपालिकाले पहिरोको जोखिम रहेको राम्चेगाउँलाई रुद्रपुरगढी धौवादीमा स्थानान्तरण गर्ने योजना बनाएको थियो। २०७६ भदौमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई ल्याएर गाउँपालिले बस्ती सार्न धौवादी एकीकृत नमूना बस्ती योजनाको शिलान्याससमेत गराएको थियो। तर त्यो योजना शिलान्यास भएको पाँच वर्ष हुँदा पनि शुरू हुन सकेको छैन।
राम्चेगाउँका पहिरो जोखिम घरपरिवारलाई स्थानान्तरणको योजना बनाएको भए पनि बस्ती स्थानान्तरण गर्न स्थानीयले नमानेका कारण योजना अलपत्र परेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्। सोही वडाको अर्को गाउँमा राम्चे क्षेत्रका घरपरिवारलाई स्थानान्तरण गर्ने प्रयास गरिए पनि अहिले अलपत्र परेको अध्यक्ष पाण्डेको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
