दूधमा आत्मनिर्भर बन्यो कैलाली

कैलालीमा गाई र भैँसीका गरी ५२ वटा फार्म पशु कार्यालयमा दर्ता भएका छन्। ती फार्ममा १५६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

गोदावरी– कैलाली दूध उत्पादनमा आत्मनिर्भर बनेको छ। व्यावसायिक फार्म दर्ता गरी गाई र भैँसीपालनतर्फ किसानको आकर्षण बढ्दै जान थालेपछि यहाँबाट दूध अन्य जिल्लामा निर्यात हुन थालेको छ। 

जिल्लामा बर्सेनि दूध उत्पादन बढ्दो क्रममा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी कविराज कठायतले बताए। केन्द्र धनगढीको तथ्यंकनुसार कैलालीमा आर्थिक वर्ष २०७८/७९ मा ९६ मेट्रिक टन दूध उत्पादन भएको थियो। आव २०७९/ ८० मा १०६ मेट्रिक टन दूध उत्पादन भएको थियो। आव २०८०/८१ मा १६८ मेट्रिक टन दूध उत्पादन भएको विज्ञ केन्द्रको तथ्यांकमा उल्लेख छ।

गत वर्ष २२ हजार १६४ मेट्रिक टन गाईको र ३४ हजार ५९२ मेट्रिक टन भैँसीको गरी वार्षिक ५६ हजार ७५६ मेट्रिक टन दूध उत्पादन भएको छ। दूधमा औसत राष्ट्रिय आवश्यकता ५७ भएको र कैलालीमा ७३.१६ उपलब्धता भएकाले कैलाली दूध उत्पादनमा आत्मनिर्भर बनेको सो कार्यालयको तथ्यांकले देखाएको छ। जिल्लाबाट दैनिक दुई हजारदेखि दुई हजार ५०० लिटर दूध बाहिर निर्यात हुने गरेको दुग्ध विकास आयोजना अत्तरियाले जनाएको छ।

जिल्लामा गाई र भैँसीका गरी ५२ वटा फार्म पशु कार्यालयमा दर्ता भएका छन्। ती फार्ममा १५६ जनाले प्रत्यक्ष रोजगारी पाएको पशु सेवा कार्यालयका पुष्प भारतीले बताए। गाईभैँसी फार्मले वार्षिक चार करोड ८९ लाख रुपैयाँ आम्दानी गर्दै आएको उनको भनाइ छ। जिल्लाका विभिन्न ठाउँमा १४ दुग्ध सहकारी, ४४  निजी डेरी र एउटा खप्तड इन्डस्ट्रिज सञ्चालनमा रहेका छन्। दुग्ध सहकारी, निजी डेरी र इन्डस्ट्रिजले वार्षिक १८ करोड ८४ लाख १० हजारको कारोबार गर्दै आएको बताइएको छ। 

कैलाली–कञ्चनपुरबाट संकलित दूध नेपालगन्ज निर्यात हुँदै आएको छ। बजारमा दूध तथा दुग्धजन्य पदार्थको माग पनि बढ्दै गएको डेरी व्यवसायी बताउँछन्।