अविरल वर्षाले काठमाडौँका सडक जलमग्न

बागमती र यसका सहायक नदीहरू बिष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुलगायत अन्य साना खोलामा जलसतह सतर्कता तहभन्दा माथि र केहीमा खतरासम्म पुगेको छ।

काठमाडौँ– निरन्तरको वर्षाले काठमाडौँ उपत्यकाका सडक जलमग्न भएका छन्। यसले जनजीवन अस्तव्यस्त बनेको छ। 

मुख्य तथा शाखा सडकहरूमा पानी जमेका कारण पैदलयात्रीलाई समस्या भएको छ। सवारी आवागमन पनि प्रभावित भएको छ। सडकमा जमेको पानीबीच नै सवारी आफ्नो गन्तव्यतर्फ गइरहेका छन्। 

बागमती र यसका सहायक नदीहरू बिष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुलगायत अन्य साना खोलामा जलसतह सतर्कता तहभन्दा माथि रहेको र केहीमा खतरासम्म पुगेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार जलसतह बढ्दो रहेकाले नदीतटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन तथा नदी किनारको सडकबाट यात्रा नगर्न महाशाखाले अनुरोधसमेत गरेको छ।