काभ्रेमा खोलाले बगाएर १ जनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

वर्षाका कारण मंगलबार बिहानदेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत धुलिखेल पकुचा सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।

काभ्रेपलान्चोक– धुलिखेल नगरपालिका–५ स्थित पुण्यमाता खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ। रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भई पनौती नपा–५ नैकिन्टार बस्ने ५० वर्षीया भगवती भागदासलाई खोलाले बगाएको हो। उनलाई करिब ३०० मिटर तल मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। 

यसैबीच, अविरल वर्षाका कारण खहरे खोलाको लेदोका कारण बीपी राजमार्गअन्तर्गत माम्ती सडकखण्ड अवरुद्ध भएको छ। रोशी गाउँपालिका–११ स्थित माम्ती खोला र भ्याकुरे खोलाको बाढीका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राजमार्ग अवरुद्ध हुँदा दुवै तर्फ सयौँ यातायातका साधन रोकिएका छन्। ट्राफिक प्रहरीसहित सुरक्षाकर्मीले अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको जनाइएको छ।

उता, वर्षाका कारण मंगलबार बिहानदेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत धुलिखेल पकुचा सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।

डीएसपी राजकुमार श्रेष्ठका अनुसार पहिरोका कारण अवरुद्ध उक्त सडक नेपाल प्रहरी र नेपाली सेनाको टोलीले एकतर्फी खुलाएको छ। दुवैतर्फ खुलाउने प्रयास भइरहेको छ।