बांग्लादेश : अन्तरिम सरकारको नेतृत्व गर्न नोबेल पुरस्कार विजेता युनुस सहमत

नोबेल पुरस्कार विजेता प्राडा मुहम्मद युनुस बांग्लादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकारका रूपमा नेतृत्व गर्न सहमत भएका छन्।

नोबेल पुरस्कार विजेता प्राडा मुहम्मद युनुस बांग्लादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकारका रूपमा नेतृत्व गर्न सहमत भएका छन्।

प्रधानमन्त्रीबाट शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न युनुसलाई आह्वान गरेका थिए। प्रमुख विद्यार्थी नेता नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजूमदारले मंगलबार भिडियो सन्देशमार्फत उनलाई आग्रह गरेका थिए।

द डेली स्टारले विश्वसनीय स्रोतलाई उद्धृत गर्दै उनी अन्तरिम सरकारको प्रमुख सल्लाहकारका रूपमा नेतृत्व गर्न तयार रहेको जनाएको छ। शुरूमा उनले विद्यार्थी नेताहरूको आग्रह अस्वीकार गरेको तर उनीहरूको पटकपटकको आग्रहपछि अन्तरिम सरकारको नेतृत्व गर्न सहमत भएको समाचारमा जनाइएको छ।

“विद्यार्थीका तर्फबाट सम्पर्क गरिँदा शुरूमा म सहमत थिइनँ। मैले उनीहरूलाई अझ धेरै काम गर्न बाँकी रहेको बताएँ। तर उनीहरूले बारम्बार अनुरोध गरे,” युनुसको भनाइ उद्धृत गर्दै स्रोतले द डेली स्टारलाई भन्यो।

विद्यार्थी नेताहरूले उनलाई अब बांग्लादेशलाई सही बाटोमा अगाडि बढाउने अवसर आएको र त्यसको नेतृत्व गरिदिन अनुरोध गरेका थिए। “यो आन्दोलनमा धेरै विद्यार्थी र आममानिस मारिए। अब देशलाई सही तरिकाले सञ्चालन गर्ने अवसर आएको छ। र यो तब मात्र सम्भव हुन्छ जब तपाईं जिम्मेवारी लिनुहुन्छ,” एक विद्यार्थी नेताको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

उनले त्यसपछि विद्यार्थी नेताहरूको आग्रहलाई स्वीकार गरे‍को समाचारमा जनाइएको छ। “विद्यार्थी र जनताले यत्रो त्याग गर्न सक्छन् भने मेरो पनि केही जिम्मेवारी छ। त्यसपछि मैले विद्यार्थीहरूलाई जिम्मेवारी लिन सक्छु भनेँ,” स्रोतलाई उद्धृत गर्दै द डेली स्टारले लेखेको छ।

ट्रिब्यूनका अनुसार विद्यार्थी नेता नाहिदले सोमबार राति २४ घण्टाभित्र अन्तरिम सरकारको रूपरेखा तयार गरिने घोषणा गरेका छन्।

बांग्लादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थीहरूले थालेको आन्दोलन उत्कर्षमा पुग्दै गर्दा हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भइन्। उनले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेकी थिइन्।

बांग्लादेशमा आएको राजनीतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति दिएका छन्।