सामूहिक बसाइसराइ, भिन्न संस्कृतिसँगको सहकार्यका कारण हाम्रो विश्वदृष्टि र पहिचान बदलिँदै छ। वैश्विक सन्दर्भमा नेपाली पहिचान र संस्कृतिलाई समेत पुनः परिभाषित गर्नुपर्ने देखिन्छ।
२० वर्षअघि (२०६१ साल भदौ १६ गते) इराकमा १२ नेपालीको हत्या भयो। इराकको सानो अतिवादी समूह 'अन्सर अल सुन्ना'ले केबल आफूलाई संसारसामु चिनाउन अनाहकमा निर्दोष नेपालीको ज्यान लिएको थियो। त्यो समय गुजारेर आएका धेरै नेपालीलाई त्यस घटनाले आजसम्म पनि स्तब्ध बनाउँछ। अतिवादी समूह आफैले बनाएर संसारभर फैलाएको दर्दनाक दृश्यको भिडियो हेरेका या घटनाबारे सुनेका अधिकांशले त्यो क्षण नबिर्सने भइहाले। सो घटनाबारे सुनेकाहरू समेत बेलाबेला सो प्रसंग सम्झी दुखी भइरहेका हुन्छन् र यो सिलसिला दशकौँ पछिसम्म चलिरहन्छ।
एकै समयको एक थरी घटना त्यसरी चिरकालसम्म सम्झनेहरूलाई उही दिनको ठिक त्यसै समय आफ्नो जीवनमा के भएको थियो भन्नेचाहिँ याद नहुन सक्छ।
यस्तो किन हुन्छ भने इराकको सो वियोगान्त घटना नेपालीको सामूहिक स्मृतिमा छ र कम्तीमा पनि वर्षको एक पटक (भदौ १६) का दिन कमसेकम केही आमसञ्चार माध्यमले त्यसबारे सम्झाइरहेका हुन्छन्। त्यसबाहेक जनश्रुतिका रूपमा समेत त्यसबारेका कथन एकपछि अर्को पुस्तामा हस्तान्तरण हुँदै जान्छ। तर त्यही बेलाका व्यक्तिगत भोगाइ दोहोर्याएर सम्झिइएको हुँदैन। त्यस कारण ती चाँडै हाम्रो स्मृतिबाट मेटिएर जान्छन्। यस लेखमा इराकमा भएको घटनाजस्तै कुनै खास भूगोल र समुदायका मानिसको सामूहिक स्मृतिमा लामो समयसम्म बसिरहने घटना र परिवेशका विशेषताबारे संक्षिप्त चर्चा गर्नेछौं।
त्यसका लागि ज्यान यासम्यानद्वारा लिखित र जोन जाप्लिकाद्वारा अनुवादित निबन्धको एक अंशलाई यस लेखमा विश्लेषण गर्न खोजिएको हो। जर्मन नागरिक ज्यान यासम्यान प्राचीन इजिप्टबारे अध्ययन गर्ने व्यक्ति (इजिप्टोलोजिस्ट), सांस्कृतिक समालोचक र धर्मसम्बन्धी अनुसन्धानकर्ता हुन्। उनी धर्मसंस्कृति र स्मृतिबीच सम्बन्धको अध्ययन–अन्वेषण अध्ययन गर्छन्।
फ्रान्सेली दार्शनिक र समाजशास्त्री मौरिस हल्बवाचको सिद्धान्तअनुसार, स्मृति एक व्यक्तिगत घटना (फेनोमेनन) मात्र नभएर भाषाजस्तै एक सामाजिक परिवेश (फेनोमेनन) पनि हो। ज्यान यासम्यान आफ्नो निबन्ध 'सामूहिक स्मृति र सांस्कृतिक पहिचान'मा टिप्पणी गर्छन् कि संस्कृतिको अस्तित्वमा सांस्कृतिक स्मृतिको महत्त्वपूर्ण भूमिका हुन्छ।
यसले थप के संकेत गर्छ भने कुनै पनि ठाउँको पहिचान जीनबाट मात्र प्रसार हुँदैन, स्मृतिहरूले पनि कुनै पनि ठाउँको पहिचानलाई निरन्तरता दिन्छ, बलियो बनाउँछ। स्मृतिहरू नहुँदा सबै समाज, जाति र ठाउँलगायत धेरै विषयको पहिचान कमजोर हुन जान्छ। समुदायका मानिसहरू आफ्ना स्मृति संरक्षण गर्न कत्तिको तत्पर र सचेत छन् भन्ने कुरामा पनि सामूहिक स्मृतिको संरक्षण निर्भर रहेको हुन्छ।
यासम्यानले आफ्नो निबन्धमा दुई प्रकारका स्मृतिबारे चर्चा गरेका छन्: व्यक्तिगत स्मृति (कम्युनिकेटिभ मेमोरी) र सामूहिक स्मृति (कलेक्टिभ मेमोरी)। उनका अनुसार व्यक्तिगत स्मृति लगभग ८० देखि १०० वर्षसम्म बाँच्छ।
सामूहिक स्मृति भने सांस्कृतिक पहिचानको समर्थन गर्ने मान्छेको समूहद्वारा गरिने अतीतको साझा दृष्टिकोण हो। त्यसो हुँदा, एउटा समाजले आफ्नो इतिहासको अभिलेख राख्नेतर्फ स्वाभाविक चासो राख्नुपर्छ, स्मृतिहरूलाई हामीले प्रयोग नगर्दै जाँदा हाम्रो दिमागले तिनलाई बिस्तारै बिर्सिँदै जान्छ।
सन् १९९० को प्रारम्भतिर सामूहिक स्मृतिको अध्ययनबारे चासो बढ्न थालेको हो। सामूहिक स्मृतिका समस्यासँग सम्बन्धित मानविकी क्षेत्रमा अहिले थप चासो बढ्दो छ। अनुसन्धानको यो क्षेत्रलाई 'स्मृति अनुसन्धान' भनेर चिनिन्छ। विगतका केही दशकमा विभिन्न विषयका अनुसन्धानकर्ताले यस क्षेत्रको विकास र वर्णन गर्ने गरेका छन्। अहिलेसम्म आइपुग्दा अध्येताहरूले सामाजिक-सांस्कृतिक स्मृतिको विश्लेषण र व्याख्याको नयाँ विधि प्रस्ताव गरेका छन्।
'सांस्कृतिक स्मृति'को अवधारणाबारे सन् १९३० यता अध्ययन भएता पनि यो शब्द १९८० मा मात्र प्रयोगमा आएको हो। अहिलेसम्म सांस्कृतिक स्मृतिको समय, पहिचान र स्मृतिबीचको सम्बन्ध तीनै तहमा स्पष्ट भए। ती हुन्: व्यक्तिगत, सामाजिक र सामूहिक।
अस्मानले आफ्नो लेखमा मौरिस हल्बासलाई उद्धृत गर्दै लेखेका छन्, "सांस्कृतिक स्मृति एक प्रकारको सामूहिक स्मृति हो, जसलाई मान्छेका सम्बन्धहरूका कारण सिर्जित स्मृतिका रूपमा परिभाषित गरिएको छ। अस्मानले त्यसमा थपे, "यसले साझा स्मृतिको निर्माण गर्छ र यस्तो स्मृतिको अभिन्न अंगका रूपमा संकेत (कला, चित्र, मूर्ति, अभिलेख आदि) रहेको हुन्छ।
राष्ट्र, धर्म, राजनीतिक दल, पुस्ता वा परिवारजस्तासँग जोडिनु/सम्बन्ध रहनु सांस्कृतिक पहिचानसँग जोडिनु हो। ऐतिहासिक प्रमाणहरूले यिनीहरूसँग महत्त्वपूर्ण विशेषता रहेको देखिन्छ, जसले समयसँगै यिनीहरूको निरन्तरतालाई सुनिश्चित गर्छ।
सामूहिक सम्झना त्यस्ता विषय हुन्, जसबाट यी स्मृति-कथनहरू बन्छन्। अन्य व्यक्तिहरूसँगको सामाजिक अन्तर्क्रिया र सांस्कृतिक समूह आदिसँग सम्बन्धित व्यवहार कलाकृति (संकेत/चित्र, मूर्तिआदि) मार्फत मजबुत हुन्छन्। कलाकृति र संकेतले हामीलाई लामो समयसम्म ती घटनाबारे सम्झना दिलाइरहेका हुन्छन्, जबकि अन्य कुनै उपायले त्यो सम्भव हुन्थेन।
संस्कृतिलाई आकार दिने परम्परा, तिनको स्थानान्तरण र आदानप्रदानलाई सांस्कृतिक स्मृति भनेर बुझ्न सकिन्छ। जबकि नियमित सामाजिक अन्तर्क्रिया र सञ्चारको माध्यमबाट सामाजिक स्मृति बन्छ। यासम्यानले सांस्कृतिक स्मृतिको आफ्नो अवधारणा र हल्बवाक्सको 'सामूहिक मेमोरी'को परिभाषा बीचको भिन्नता छुट्याउन 'कम्युनिकेटिभ मेमोरी' शब्द सिर्जेका छन्, जसमा सांस्कृतिक स्मृति समावेश छैन।
दैनिक जीवनसँग व्यक्तिगत स्मृति निकट छ। सांस्कृतिक स्मृति भने दैनिक जीवनबाट टाढा रहन्छ।
सांस्कृतिक स्मृति त्यस्तो इन्स्टिच्युसन हो, जुन बाह्य रूपमा अस्तित्वमा हुन्छ र प्रतिकात्मक रूपमा अभिलेख गरिएको हुन्छ। यो त्यस्तो स्थिर इकाई हो, जुन परिस्थितिबाट स्वतन्त्र रूपमा अवस्थित छ र अन्य मानव सम्झना र बाह्य प्रतीकहरूसँग निरन्तर अन्तरक्रियामा रहन्छ। स्मारक, पुस्तकालय, र अभिलेखजस्ता वस्तु इन्स्टिच्युसनका उदाहरण हुन्, जसले स्मृतिहरू मेटिन नदिन भूमिका खेलेका हुन्छन्। यी इन्स्टिच्युसनले आफ्ना छुट्टै स्मृतिहरू पनि बोकेका हुन्छन्। सांस्कृतिक स्मृति 'निराकार' रूपमा अवस्थित छ र यसको संरक्षणका लागि विभिन्न निकायको आवश्यकता रहन्छ।
व्यक्तिगत स्मृति संस्थागत भएको हुँदैन, विशेषज्ञहरूले पनि यसलाई परिष्कृत गरेका हुँदैनन्। यो धेरै औपचारिक र स्थिर पनि हुँदैन। दैनिक अन्तरक्रिया र सञ्चारमा यो आधारित छ र यसको आयु करिब तीन पुस्ता, वा ८० वर्षमा सीमित छ। व्यक्तिगत स्मृतिको दीर्घायु सामाजिक सम्बन्धहरूको चिरायुमा निर्भर गर्छ।
दैनिक वार्तालापहरू व्यक्तिगत स्मृति हुन्, जुन गहिराइमै नगईकन अथवा विस्तृत ज्ञानबिनै एक विषयबाट अर्कोमा सर्छ। नतिजाको रूपमा, व्यक्तिगत स्मृतिको समयसीमा सीमित हुन्छ।
मौखिक अभिलेख मात्र भएका अफ्रिकी समाजमा लामो समय बिताएका मानवशास्त्री यान वान्सिनाले त्यहाँका समुदायले कसरी कथा, गीत, नृत्य, अनुष्ठान, मुकुन्डो र प्रतीकहरूमार्फत धेरै पहिलेको इतिहासलाई औपचारिक र संस्थागत गरेका छन् भन्नेबारे अध्ययन गरेका छन्। यस्ता 'मौखिक समाज'मा सांस्कृतिक स्मृति कायम राख्न गजबसँग कथा भन्न सक्ने विज्ञ व्यक्ति आवश्यक पर्ने रहेछ।
स्मृतिले विस्मृतिको अनुमान गर्छ, जबकि ज्ञानको कुनै रूप हुँदैन र असीमित रूपमा त्यो प्रगतिशील हुन्छ। समूह र यसको मूल्यहरूको लागि स्मृति, घटना र सांस्कृतिक स्मृति विशिष्ट छन्। त्यसैले यी स्थानीय र अहंकारी छन्, जबकि विश्वव्यापी दृष्टिकोणबाट ज्ञानको सामान्यीकरण र मानकीकरण हुन्छ।
त्यो विगत आफ्नै हो भन्ने बोध हुने सीमा/समयसम्म मात्र सांस्कृतिक पहिचान पुग्न सक्छ। सहजै बिर्सन सकिने विषय हो स्मृति, तर ज्ञानको ठ्याक्कै ठोस रूप हुँदैन। त्यो निरन्तर परिष्कृत हुँदै जाने विषय हो। स्मृति, घटना र सांस्कृतिक स्मृति खास समूहको मूल्य/मान्यतासँग सम्बन्धित हुन्छ। त्यस कारण यो 'लोकल' र आत्मकेन्द्रित हुन्छ। तर ज्ञानले आफूलाई वैश्विक बनाउँदै सामान्यीकरण र मानकीकरण गर्छ।
सांस्कृतिक स्मृतिको मुख्य काम विगतको 'राम्रो या नराम्रो'लाई प्रतिबिम्बित गर्नु होइन। बरु, उस्तै गल्तीहरू दोहोर्याउनबाट बच्न अघिल्ला अनुभवहरूबाट जानकारी लिनु/प्रयोग गर्नु हो। यस अवधारणालाई 'रिमम्बरिङ फरवार्ड' (विगत बुझ्दै अघि बढ्ने) भनिन्छ। संस्कृतिलाई जीवन्त राख्न, मानिसलाई आफ्नो संस्कृतिमा अनुकूलन हुन, र संस्कृति स्वयंलाई नयाँ परिस्थितिहरूसँग अनुकूलन हुन सांस्कृतिक स्मृतिले मद्दत दिन्छ।
स्मृति जटिल प्रणाली हो, जसका विभिन्न प्रकार छन्। केही फ्रेमवर्कले मेमोरीलाई व्यक्तिगत, पुस्तागत र सांस्कृतिक स्तरहरूमा विशिष्ट समयसीमा र पहिचानहरूसँग जोड्छ। सम्झना आफ्नोपनको भावना हो, र यसलाई सामाजिक दायित्वका रूपमा पनि लिन सकिन्छ। यसबाहेक, आफ्नो अघिल्लो सामाजिक पहिचान बिर्सने व्यक्तिलाई नयाँसँग जोडिन पनि स्मृतिले मद्दत गर्न सक्छ।
सांस्कृतिक पहिचान स्थिर अवधारणा होइन; यो निरन्तर परिवर्तित र विकसित भइरहन्छ। स्थानान्तरण, करियर परिवर्तन, कलात्मक रुचि वा धार्मिक र राजनीतिक विश्वासलगायत विभिन्न कारणले समयसँगै व्यक्तिको सांस्कृतिक पहिचानको विकासमा योगदान दिन सक्छन्। यसको मतलब हाम्रै पहिचान र सांस्कृतिक समूह पनि परिवर्तन हुन सक्छन्। विभिन्न समुदायका विचार, मूल्यमान्यता, रीतिरिवाज र कार्यहरूप्रति हाम्रो बुझाइ र स्वीकृति परिवर्तन हुँदा हाम्रो सांस्कृतिक पहिचान पनि परिवर्तन हुन्छ। हाम्रो सांस्कृतिक पहिचान हाम्रो विश्व दृष्टिकोणको एक महत्त्वपूर्ण पक्ष हो। विभिन्न सांस्कृतिक तत्त्वहरूलाई हामी कसरी आत्मसात् गर्छौं, हामी तिनलाई स्वीकृत वा अस्वीकृत गर्छौं भन्ने कुराले हाम्रो सांस्कृतिक पहिचानलाई आकार दिन्छ।
एङ्ग्लो-नेपाल युद्ध (१८१४–१८१६) भनिने गोर्खा युद्ध राष्ट्रिय/क्षेत्रीय पहिचानका लागी नेपालीहरूले आफ्नो बहादुरी देखाएको एक ऐतिहासिक घटना हो। यसले स्वतन्त्रता र सांस्कृतिक विरासतको कदर गर्दै बलियो राष्ट्रिय पहिचान बनाउन भूमिका खेल्यो। नेपाली जातिले लडाइँमा पराजय स्विकारे पनि अंग्रेजविरुद्ध बहादुरीका साथ लडेको गौरव भाव हामीसँग अझै छ। यसले हाम्रो सांस्कृतिक पहिचानलाई आकार दिएको छ। अहिलेसम्म पनि कतिपय नेपाली आफूलाई बहादुर ठान्छन्।
पछिल्ला केही दशकमा नेपालीहरू क्रमशः विदेश जाने गरेकाले हाम्रो सांस्कृतिक पहिचानमा ठूलो परिवर्तन आएको छ। आजको वैश्विक सन्दर्भमा नेपाली पहिचान र संस्कृतिलाई समेत पुनः परिभाषित गर्नुपर्ने देखिन्छ।
राम्रो शिक्षा, रोजगारी र जीवनयापनको खोजीमा धेरै नेपाली विदेश गएका छन्, जाँदै छन्। यस बसाइसराइले हाम्रो परम्परा र आदर्शमा फरक सांस्कृतिक प्रभावहरू थपिँदै छन्। विदेशमा रहँदा युवा पुस्ता विविध संस्कृतिसँग घुलमिल हुन्छ। फरक समुदाय र संस्कृतिका मानिससँगको भेटघाट र सहकार्यले तिनमा आफ्ना मूल सामाजिक मान्यता, इतिहास र धर्मका कतिपय पक्षमा समेत अलग दृष्टिकोण विकास हुन जान्छ।
यो प्रक्रियाले सांस्कृतिक अन्तर्घुलन बढ्छ र यसले नयाँ नेपाली पहिचान सिर्जना गर्न योगदान गर्छ।
यतिखेर हामी सामूहिक बसाइसराइ (मास माइग्रेसन), भिन्न संस्कृतिसँगको सहकार्यका कारण हाम्रो विश्वदृष्टि र पहिचान बदलिँदै छ। त्यसो हुँदा आजका दिनमा सांस्कृतिक पहिचान र सामूहिक स्मृतिको विषय धेरै महत्त्वपूर्ण छ।
हामीसँग सांस्कृतिक पहिचान र सामूहिक स्मृतिबारे अनेक सिद्धान्त र ज्ञान छ, तर ती अलि बढी नै शास्त्रीय भइसके भन्दा हुन्छ। आजको डिजिटल र एआई संसारको नवीनतम माग र आधुनिकतालाई विचार गर्दै यस क्षेत्रमा थप अनुसन्धान आवश्यक छ।
पूर्णतः फरक सम्झना र सांस्कृतिक पहिचान भएका मानिसलाई एकताबद्ध गर्दै संसार यतिखेर सानो गाउँझैँ बनिसकेको छ। सम्झनाहरूले कसरी सामूहिक रूपमा काम गर्छन् र हाम्रा पहिचानलाई आकार दिन्छन् भन्ने कुरा बुझियो भने संसार डुल्न, बुझ्न र फरक संस्कृतिका मान्छेसँग सहकार्य गर्दै अर्को पुस्तामा हाम्रा स्मृति हस्तान्तरण गर्न सहज हुन्छ।
(रिजाल मिडिया कम्युनिकेसन एन्ड रिजनल स्टडिजकी अध्येता हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
