नेपाल काभा भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

काभा महिला नेसन्स लिग भलिबलको सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ।

काठमाडौँ– सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा नेपालले इरानलाई पराजित गर्दै फाइनलमा पुगेको छ। 

मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा भएको दोस्रो सेमिफाइनल खेलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।

नेपालले इरानविरुद्ध पहिलो सेट २५–२१ ले, दोस्रो सेट २८–२६ ले, तेस्रो तथा निर्णायक सेट २५–२० ले जित्यो। यसअघि समूह चरणको खेलमा इरानसँग नेपाल ३–२ ले पराजित भएको थियो।

अब नेपालले उपाधिका लागि भारतको सामना गर्ने छ। मंगलबार नै भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै भारत फाइनलमा पुगेको हो।