बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सहकारीका सचिवसहित ३ जना पक्राउ

काठमाडौँको सत्कार बचत तथा ऋण सहकारी संस्थाका सचिव गोविन्द पुरी र कोषाध्यक्ष महेश श्रेष्ठ र व्यवस्थापक ध्रुवराज कार्कीलाई जनालाई पक्राउ गरेर अनुसन्धान शुरू गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

काठमाडौँ– काठमाडौँको सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सहकारीका पदाधिकारीसहित तीन जना पक्राउ परेका छन्।

सामाखुशीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीको न्युरोड तथा चाबहिल शाखा कार्यालयका सञ्चालकले ठूलो रकम हिनामिना गरेको आरोपमा संस्थाका सचिव र कोषाध्यक्षसहित तीन जनालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ।

पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौँ बस्ने ३२ वर्षका गोविन्द पुरी, रामेछाप घर भई काठमाडौँको चाबहिल बस्ने ३७ वर्षका महेश श्रेष्ठ र सोही ठाउँका ३७ वर्षीय ध्रुवराज कार्की रहेका छन्। पुरी उक्त सहकारीका सचिव, श्रेष्ठ कोषाध्यक्ष र कार्की शाखा व्यवस्थापक रहेका प्रहरीले जानकारी दिएको छ।

उनीहरूले आकर्षक ब्याजदर दिने लोभमा फसाएर बचतकर्तालाई रकम जम्मा गर्न लगाएका तर जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता माग गर्दा नदिएपछि पीडित ब्युरोमा पुगेका थिए।

प्रहरीमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा बचतकर्ताको रकम अपचलन तथा हिनामिना गर्ने तथा नक्कली कर्जा फाइल खडा गरी सहकारीको रकम दुरुपयोग गर्ने कार्यमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको ब्युरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

उनीहरूलाई प्रचलित कानूनबमोजिम आवश्यक कारबाहीका लागि काठमाडौँ महानगरपालिका र सहकारी विभागबाट समेत प्रहरीलाई पत्राचार भएको उनले बताए। 

सोही आधारमा खोजी गरी पक्राउ परेका उनीहरूमाथि सहकारी ऐन, २०७४ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको पनि बोगटीले बताए। उक्त सहकारीबाट ठगीमा परेका अन्य बचतकर्तालाई पनि हिनामिना भएको रकमसहित निवेदन दिन पनि ब्युरोले अनुरोध गरेको छ।