अनलाइनमार्फत ठगी गर्ने गिरोहका ९ जना हेटौँडाबाट प्रकाउ

हेटौँडा–४ पारिजातपथमा ‘मेडि असिस्ट’ कम्पनी खोलेर अनलाइनमार्फत ठगी गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। सो क्रममा भारतीय मूलका ९ जनालाई पक्राउ गरिएको हो। 

हेटौँडा– मकवानपुरको हेटौँडामा अनलाइनमार्फत ठगी गर्ने एक अन्तर्राष्ट्रिय गिरोह पक्राउ परेको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सीताराम रिजालका अनुसार हेटौँडा– ४ पारिजातपथमा ‘मेडि असिस्ट’ कम्पनी खोलेर अनलाइनमार्फत ठगीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको थियो। सो क्रममा भारतीय मूलका ९ जनालाई पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा २८ वर्षीय नवनीत कुमार, २७ वर्षीय शाहरुख खान, २९ वर्षीय कुन्दन कुमार , २६ वर्षीय आशिष कब्डौला, ३४ वर्षीय विशाल कक्कड, ३८ वर्षीय लोकेश कुमार दुवे, २९ वर्षीय विकासकुमार सिंह, २८ वर्षीय अरुण कुमार र ४० वर्षीय कुनाल शर्मा छन्। 

छापाका क्रममा प्रहरीले विभिन्न कम्पनीका ७ थान ल्यापटप, १३ थान मोबाइल, हार्ड डिस्क, राउटरलगायत उपकरण बरामद गरेको छ। गिरोहले गत फागुन १० गते हेटौँडामा द्रबिन कुमार सिंहको नाममा ‘मेडि असिस्ट’ कम्पनी दर्ता गरेको थियो। कम्पनीले परामर्श सेवा प्रदान गर्ने उद्देश्य राखेको भए पनि अनलाइन ठगीको कारोबार गर्दै आएको पाइएको प्रहरी उपरीक्षक रिजालले बताए।

प्रहरीले यस कम्पनीमा १२ जना भारतीय नागरिक कार्यरत रहेको र तीमध्ये तीन जना फरार रहेको उनले जानकारी दिए। अनुसन्धानका क्रममा यो गिरोहले भारतको राँचीमा रहेको मुख्य कार्यालयसँग जडान गरिएको ‘द्रुत कल क्लाइन्ट सफ्टवेयर’ प्रयोग गरी ठगी गर्ने गरेको खुलेको उपरीक्षक रिजालले बताए। 

यस सफ्टवेयरमार्फत नेपाली तथा विभिन्न देशका व्यक्तिलाई लक्षित गरी उनीहरूको व्यक्तिगत जानकारी संकलन गरी भारत पठाउने गरेको उनले बताए।

यस घटनालाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।