कैलाली र कञ्चनपुरको विद्युत् आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गरिँदै

विद्युत प्राधिकरणले कैलाली र कञ्चनपुरका उपभोक्ताले भोगिरहेको भोल्टेज समस्या चाँडै समाधान हुने जनाएको छ। त्यस क्षेत्रको विद्युत आपूर्ति सुधार्न पूर्वाधार विकास गरिरहेको प्राधिकरणले जनाएको छ।

तस्वीरः किसन पाण्डे/उकालो

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत् खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार गर्ने भएको छ। 

प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल रहेको प्रसारण र वितरण प्रणालीका संरचनाहरूको सुदृढीकरण र बिस्तार गर्ने भएको हो। दीर्घकालीन रूपमा समस्या समाधान गर्न उच्च क्षमताका प्रसारण लाइन निर्माण गरिन लागिएको हो। 

गर्मीको समयमा कैलालीको अत्तरिया, टीकापुर धनगढी, कञ्चनपुरको महेन्द्रनगरलगायतका सहरी क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङ लगायतको समस्या रहेको उपभोक्ताहरूको गुनासो आउने गरेको छ। 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ ,वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उप कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार त्यस क्षेत्रको स्थलगत अनुगमन भ्रमण गरी विद्युत् आपूर्ति सुधारका लागि गर्नुपर्ने कामका विषयमा जानकारी लिएको छ। 

टोलीले प्राधिकरणका सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा वितरण केन्द्र प्रमुखहरूसँग छलफल गरी गर्मी शुरू हुनुभन्दा पहिले नै विद्युत् आपूर्ति सुधारका सम्पूर्ण कार्य सम्पन्न गर्न र त्यसका लागि आवश्यक पर्ने बजेट तत्काल पेश गर्न निर्देशन दिएको छ। साथै सुदूरपश्चिमका जिल्लाहरूको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी सोहीअनुसार काम गर्न समेत निर्देशन दिएको छ। 

कार्यकारी निर्देशक घिसिङले कैलाली र कञ्चनपुर क्षेत्रको विद्युत् आपूर्तिको समस्यालाई समाधान गर्न तत्काल र दीर्घकालीन रूपमा गर्नु पर्ने कामका लागि टोली नै बनाएर अध्ययन भइरहेको बताए। 

“३३ केभी लाइन क्षमताभन्दा बढी चलाउनु परेका कारण खासगरी गर्मी मौसममा भोल्टेज, ओभरलोड लगायतका समस्या छ। यसको समाधानका लागि कैलालीको अत्तरिया सबस्टेसनबाट दक्षिण क्षेत्र हुँदै १३२ केभीलाइन र धनगढी आसपासमा १३२ केभी सब स्टेसन निर्माण तत्काल शुरू गर्न लागेका छौँ। कञ्चनपुरको पुनर्वास र बेलौरीलाई पनि १३२ केभी लाइनबाट जोड्ने छौँ, १३२ केभीलाइन केन्द्रमा आएपछि भोल्टेज, ट्रिपिङ लगायतका समस्या हुँदैन”, घिसिङले भने। 

अहिले कालीगण्डकीको बिजुली लामो प्रसारण लाइनबाट यस क्षेत्रमा आपूर्तिका लागि ल्याउनुपर्ने बाध्यात्मक अवस्थाका कारण पनि समस्या आएको बताउँदै उनले यसै वर्ष बझाङ र दार्चुलामा निर्माण भएका जलविद्युत आयोजनाहरूको करिब एक सय मेगावाट विद्युत् अत्तरिया सबसबस्टेसन मार्फत यस क्षेत्रमा वितरण गर्ने जनाए। यसले भोल्टेजको समस्या धेरै हदसम्म समाधान गर्ने उनको भनाइ थियो। 

यस्तै, उनले कर्णाली, सेती, र महाकाली नदी जलाधार क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत् प्रवाहका लागि ४०० केभीका प्रसारण लाइन निर्माण हुन लागेको बताए। 

त्यस्तै, लमही–छिन्चु, छिन्चु दोदोधारा, दोदोधार–नयाँअत्तरिया (दैजी) ४०० केभी प्रसारण लाइन अध्ययनको क्रममा रहेका छन्। लमही, मातीपुर छिन्चु र नयाँअत्तरियामा ४००/१३२ सब स्टेसन निर्माण गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणको टोलीले प्रस्तावित प्रसारण लाइनको रुट तथा सबस्टेसन निर्माण गरी ठाउँ, सञ्चालित सबस्टेसन, निर्माणाधीन आयोजननाहरूको पनि अनुगमन गरेको थियो।