अघि बढ्यो २ वर्षदेखि रोकिएको काठमाडौँ–२९को ज्येष्ठ नागरिक भवन निर्माण प्रक्रिया

वडा कार्यालयकै लापरबाहीले दुई वर्षदेखि अलपत्र काठमाडौँ–२९ घट्टेकुलोमा बनिरहेको ज्येष्ठ नागरिक भवनको निर्माण प्रक्रिया अघि बढेको छ। 

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२९, घट्टेकुलोस्थित गणेशमान सिंह ज्येष्ठ नागरिक भवनको निर्माण प्रक्रिया अघि बढेको छ। नक्सा पास नगरेरै निर्माण थालिएको उक्त भवन महानगरले नक्सा पास अनिवार्य गरेसँगै २०७९ असारमा रोकिएको थियो।

अहिले भवनको काम अघि बढाउने विषयमा सम्भाव्यता अध्ययन गरिएको छ। उक्त अध्ययन प्रतिवेदन काठमाडौँ महानगरपालिकाको 'जुरि टिम'मा बुझाएको थियो। जुरि टिम विज्ञहरूको टोली हो। १० हजार वर्गफिटभन्दा धेरै क्षेत्रफलमा बन्ने भवन निर्माणबारे यो टोलीले निर्णय गर्ने गर्छ। जसमा इन्जिनियरलगायत सम्बन्धित क्षेत्रका व्यक्तिहरू रहने व्यवस्था छ। टिमले माटो परीक्षण गर्न सुझाव दिएको छ।

जुरि टिमको सुझाव अनुसार माटो परीक्षण गरी काम अघि बढाउने वडा अध्यक्ष कुश ढकालले बताए। नक्सा डिजाइन र रेट्रोफिटिङमा समय लागे पनि चालु आर्थिक वर्षमै निर्माण सम्पन्न गर्ने गरी बजेटसमेत विनियोजन गरिएको उनको भनाइ छ।

“यसवर्ष बजेट पनि विनियोजन गरिएको छ। प्रक्रियागत रूपमा जान्छौँ। यसै आर्थिक वर्षमा निर्माण गर्ने गरी काम भइरहेको छ,” उनले भने।

वडाले यस वर्ष एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। नक्सा पास नगरेरै निर्माण थालेपछि भवन दुई वर्षदेखि अलपत्र परेकोबारे उकालोले यसअघि नै समाचार लेखेको थियो। त्यसलगत्तै वडाले नक्सा पासको काम अघि बढाएको हो।

शुरूआतमा भवन चार तलाको बनाउने योजना भए पनि बजेट अभावका कारण दुई तला रहने गरी बनाइएको थियो। अहिले भने वडाकै बजेटमा चार तलाको लिफ्टसहितको भवन निर्माण गर्न लागिएको हो। थप गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा सम्भाव्यता अध्ययन भइरहेको छ। माटो परीक्षणपछि आवश्यक रेट्रोफिट गरी टेन्डर प्रक्रियामा जाने वडाअध्यक्ष ढकालले बताए।

भवन निर्माणको योजना
झण्डै ८० जना ज्येष्ठ नागरिक रहने गरी चार तले भवन बनाउने योजनाअनुसार आर्थिक वर्ष २०७५/७६ मै निर्माण शुरू भएको थियो। भवनको शिलान्यास काठमाडौँ क्षेत्र नं १ का सांसद तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गरेका थिए। २०७६ जेठ ७ मा भवनको शिलान्यास गर्दै सिंहले १८ महिनाभित्र निर्माण सकिने बताएका थिए।

हालसम्मको संरचना सांसद विकास कोष (स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम)को बजेटबाट बनाइएको हो। भवनको क्षेत्रसहित ७ रोपनी जग्गा कृष्णसेन ईच्छुक प्रतिष्ठान र ज्येष्ठ नागरिक सेवा केन्द्र घट्टेकुलोले २०६८ बैशाख २३ मा नेपाल सरकारबाट ३० वर्षका लागि भोगाधिकार पाएको थियो। जसको आधा जग्गामा ईच्छुक प्रतिष्ठानले आफ्नो भवन बनाइसकेको छ।

ज्येष्ठ नागरिक सेवा केन्द्रले भने बजेट अभावका कारण भवन निर्माण गरेको थिएन। सोही क्रममा क्षेत्र न. १ का सांसद प्रकाशमा सिंहले भवन बनाउन बजेट विनियोजन गर्ने र वीर गणेशमान सिंह ज्येष्ठ नागरिक भवन नामाकरण गरिनुपर्ने प्रस्ताव राखे। उक्त प्रस्तावमा केन्द्रले सहमति जनायो। योजनाअनुसार सांसद सिंहले सांसद विकास कोषमार्फत आर्थिक वर्ष २०७५/७६ मा १ करोड रुपैयाँ बजेट विनियोजन गरेसँगै निर्माणको काम शुरू भएको थियो।