एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, ५ शव भेटिए

'अहिलेसम्म घटनास्थलमा पाँच शव भेटिएको जानकारी आएको छ, एक जना महिला भन्ने खबर छ,' जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी तीलक भारतीले भने।

फाइल तस्वीर

काठमाडौँ– काठमाडाैँबाट रसुवाको स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको नाइन एन-एजेडी हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी तीलक भारतीकाअनुसार शिवपुरी गाउँपालिका–७ स्थित शिवपुरी जंगलको सूर्यचाैरमा दिउँसो १:५४ बजे हेलिकप्टर दुर्घटनामा परेको हो। अहिलेसमम्म एक महिलासहित पाँच जनाको शव भेटिएको उनले जानकारी दिए।

"अहिलेसम्म घटनास्थलमा पाँच शव भेटिएको जानकारी आएको छ, १ जना महिला भन्ने खबर छ," उनले भने। तीमध्ये चार जना चिनियाँ नागरिक रहेको उनको भनाइ छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चार जना चिनियाँ नागरिक बोकेर उडेको हेलिकप्टर ३ मिनेटमै सम्पर्क विच्छेद भएको थियो।

सूर्यचाैर क्षेत्रमा आगो बलेको र धुँवा देखिएपछि स्थानीयले हेलिकप्टर दुर्घटना भएको हुनसक्ने आशंका गरी प्रहरीलाई खबर गरेको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले जानकारी दिए।