सीटीईभीटीको पाठ्यक्रम पुनरावलोकन र पुनर्संरचनाका लागि छुट्टाछुट्टै समिति गठन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले आफ्नो पाठ्यक्रम पुनरावलोकन र पुनर्संरचनाका लागि छुट्टाछुट्टै समिति गठन गरेको छ। 

काठमाडौँ– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले आफ्नो पाठ्यक्रम पुनरावलोकन र पुनर्संरचनाका लागि छुट्टाछुट्टै समिति गठन गरेको छ। 

बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै शिक्षामन्त्री विद्या भट्टाराईले मंगलबार बसेको परिषद्को बैठकले सीटीईभीटीको पुनर्संरचना र पाठ्यक्रम पुनरावलोकन गर्न समिति गठन गरेको जानकारी दिएकी हुन्।

उनले भनिन्, "हामीले सीटीईभीटीको पुनर्संरचना गर्न जरुरी छ। हिजो बसेको परिषद्को बैठकले सीटीईभीटीको पुनर्संरचनाका लागि पाठ्यक्रम पुनरावलोकन गर्ने एउटा समिति र पुर्नसंचनाका अर्को समिति बनाएको छ। पाठ्यक्रम पुनरावलोकन गरी एक महिनामा प्रतिवेदन पेस गर्ने भनेर डा. लेखनाथ पौडेलको संयोजकत्वमा समिति गठन गरेका छौँ।"

त्यस्तै, त्रिभुवन विश्वविद्यालको उत्तर पुस्तिका हराएको सन्दर्भमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको उल्लेख गर्दै समितिको सिफारिसको आधारमा कारबाही प्रक्रिया अगाडि बढ्ने बताइन्।

"त्रिभुवन विश्वविद्यालको उत्तर पुस्तिका हराएको सन्दर्भमा अनुसन्धान गरेर कारबाही गर्नुपर्छ भनेर भन्दै आएका छौँ। त्यो उत्तर पुस्तिका जसले हरायो उसलाई दण्डित गर्नका लागि दोषि को हो भन्ने कुरा प्रतिवेदनमा उल्लेख भइसकेको छ। त्यसैले विश्वविद्यालयको बैठक बसेर कारबाही गर्ने कुरासमेत म समितिमा जानकारी गराउन चाहान्छु," उनको भनाइ छ।