हेलिकप्टर दुर्घटना छानबिनका लागि ३ सदस्यीय जाँचबुझ आयोग गठन

दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाकाे संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको हो।

काठमाडौँ– सरकारले एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।

बुधबार दुर्घटनापछि मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेको जाँचबुझ आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन्। 

उनले भने, "यो घटनाको छानबिनका लागि जाँचबुझ गरी प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो।"

उनका अनुसार समितिको संयोजकमा थापासहित सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत रहेका छन्। जाँच आयोगको कार्यअवधि काम शुरू भएको मिति देखि ३० दिन हुने छ।

आज दिउँसो १ः५४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो।

हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ (तीन पुरुष र एक महिला) नागरिकको मृत्यु भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा पाइलट मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहेका छन्।