बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी र बागमतीका थोरै तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले कोशी, मधेश र बागमतीमा साधारणदेखि पूर्णतया बदली रहेको छ। बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र बागमतीका थोरै तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा मधेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

यसैगरी, राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।