स्थानीय निकाय र व्यवस्थापन समितिले बजेटको स्रोत जुटाउने र अस्पताल व्यवस्थापन गर्ने सहमति भएकामा स्थानीय निकायले बजेट नदिँदा अस्पताल बन्द गर्ने अवस्थामा पुगेको छ।
गोदार– असार १५ गते साँझ ७ बजेतिर बटेश्वर गाउँपालिका–४ प्रेमपुरका ५७ वर्षीया दाईजीदेवी दासलाई सर्पले टोक्यो। उपचारका लागि नजिकमा रहेको क्षिरेश्वरनाथ सर्पदंश उपचार केन्द्रमा लगियो। तर केन्द्रमा विद्युत्को लाइन गएको र वैकल्पिक उपाय नभएकाले उपचार सम्भव नभएको जनाउँदै चिकित्सकले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रेफर गरे। बिरामीको अस्पताल नपुर्याउँदै मृत्यु भयो।
दासका परिवारलाई अर्को अस्पतालमा लगेको भए ज्यान जोगिन्थ्यो कि भनेर अहिले पछुतो लागि रहेको छ। “नजिकै त्यही अस्पताल थियो, त्यसैमा सर्पदंश उपचार केन्द्र भनेपछि अरू ठाउँभन्दा त्यही लग्दा ज्यान बचाउन सजिलो होला भनेको तर त्यही हाम्रो भूल भएछ,” मृतकका भाई वीरेन्द्रकुमार दासले भने, “यस्तै हुनु रहेछ, त्यही बेला बत्ती जानु र हामीलाई दुःख पर्नु एकैपटक भयो। विद्युत्को अर्को विकल्प भएको भए यस्तो हुँदैन थियो कि !”
हाल तराई मधेशमा अत्यधिक, वर्षा तथा डुबानसँगै सर्पदंशको समस्या छ। त्यसैले हाल धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा उपचारका लागि आउनेको संख्या बढ्दो छ तर यहाँ उपचारका लागि अत्यावश्यक मानिएको एन्टिस्नेक भेनम र महत्वपूर्ण औषधिको अभाव छ।
उपचार केन्द्रका सञ्चालक समितिका अध्यक्ष राजकिशोर राउतले बजेटको अभावले औषधिका साथै दैनिक कार्य सञ्चालनका लागि आवश्यक पर्ने बिजुली बत्तीको महसुल, कर्मचारीको तलब र प्राविधिकको खाजा खर्च व्यवस्थापन नहुँदा समस्या भएको बताए। बजेट अभावमा यहाँबाट प्रवाह हुने निःशुल्क उपचार सेवा बन्द हुने अवस्थामा पुगेको उनले गुनासो गरे।
२०७७ मंसिर २६ देखि सञ्चालनमा आएको २२ शय्याको यस अस्पतालमा हालसम्म ९४१ जनाले निःशुल्क उपचार गराइसकेको छन्।
क्षिरेश्वरनाथ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ( यूएनडीपी) को सहयोगमा दुई करोड रुपैयाँ लागतमा अस्पताल निर्माण भएको हो। अस्पतालमा स्रोत व्यवस्थापनका लागि सञ्चालक समिति, स्थानीय राजनीतिक दल र नेपाली सेनाबीच नौ बुँदै सहमति भए पनि सोअनुसार कार्य अगाडि नबढ्दा समस्या भएको छ।
सहमतिमा स्थानीय निकाय र व्यवस्थापन समितिले बजेटको स्रोत जुटाउने र अस्पताल व्यवस्थापन गर्ने सहमति भएकामा स्थानीय निकायले बजेट नदिँदा अस्पताल बन्द गर्ने अवस्थामा पुगेको छ। अस्पतालमा नेपाली सेनाले निःशुल्क रूपमा प्राविधिक सहयोग गर्दै आएका छन् तर सेनाका प्राविधिकलाई दिइनुपर्ने खाजा र सरसफाइवापतको खर्च पनि उपलब्ध गराउन नसकिएको केन्द्रले जनाइएको छ।
आर्थिक अभाव भएकाले आवश्यक सहयोग गरिदिन भनी क्षिरेश्वरनाथ नगरपालिका कार्यपालिका बैठकमा प्रस्ताव आए पनि थप कार्य अगाडि नबढेको कार्यपालिका सदस्य दीपक साहले बताए। उनले भने, “एकपटक त बजेट दिने निर्णय नै भएको थियो तर थप सहयोगका लागि उहाँहरूबाट प्रस्ताव आए पनि आर्थिक वर्षको अन्तिमतिर भएकाले बजेट दिन सकिएन।”
सञ्चालक समिति अध्यक्ष राउत बजेट व्यवस्थापन नहुँदा विगत एक वर्षभन्दा बढी समयदेखि बिजुलीबापतको रकम तिर्न नसकिएको बताउँछन्। “यहाँ निम्न वर्गका बिरामी उपचारका लागि आउँछन् तर औषधि, एन्टिस्नेक भेनम, जेनेरेटर तथा उपचारका लागि आवश्यक अन्य सामग्रीको अभावमा उपचार गर्न कठिनाइ छ,” उनले भने, “पटकपटक स्थानीय तहका प्रमुख, प्रदेशका मुख्यमन्त्री, स्वास्थ्य मन्त्रीलगायतलाई सहयोगका लागि गुहारिसकेका छौँ तर सुनुवाइ भएको छैन। खरिद भएको मेसिन पनि मर्मत गर्न नसक्दा थप बिग्रिन थालेका छन्।”
अस्पतालबाट धनुषाका मिथिला, धनुषाधाम नगरपालिका, लक्ष्मीनिया र बटेश्वर गाउँपालिका तथा महोत्तरीको भंगहा नगरपालिकालगायत क्षेत्रका बिरामीले सेवा लिने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
