सामान्य वर्षामै जलमग्न हुन्छ सुखीपुर स्वास्थ्य चौकी

स्वास्थ्य चौकीको दुवैतर्फ अग्लो पक्की सडक बनेसँगै विगत पाँच वर्षदेखि जलमग्न हुने गरेको छ। यसबाट बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्दै आएका छन्। 

सिरहा– पानीको निकास नहुँदा यहाँको सुखीपुर नगरपालिका–८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकीमा सामान्य वर्षामै जलमग्न हुने गरेको छ। जलमग्न हुँदा बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्दै आएका छन्। 

स्वास्थ्य चौकीको दुवैतर्फ अग्लो पक्की सडक बनेसँगै विगत पाँच वर्षदेखि जलमग्न हुँदै आएको स्थानीय इन्द्रजीत साहले बताए। “वर्षा शुरू भएसँगै अस्पताल क्षेत्र पूरै डुबान हुन्छ। थोरै वर्षामा पनि अस्पताल आउजाउ गर्न समस्या हुन्छ। लामो समय वर्षा हुँदा त अस्पताल भित्रै पानी पस्छ,” उनले भने। पानीको निकास थुनेर नजिकमा पक्की घरका संरचना बन्दै जाँदा समस्या बढ्दै गएको उनको भनाइ छ। 

पानी निकासबारे सम्बन्धित निकायमा पहल गरिए पनि आश्वासन मात्र पाइएको अस्पतालका सिनियर अहेब जगत सिंहले बताए। “वरिपरी अन्य संरचना बनेपछि अस्पताल क्षेत्र होचो हुँदा सामान्य वर्षामै पोखरीमा परिणत हुन्छ। यसले अस्पतालमा बिरामीको सेवा प्रभावित हुँदै आएको छ,” सिंहले भने, “पानीको निकासका लागि सम्बन्धित निकायमा अनुरोध गर्दै आएका छौँ। पानी निकासको काम अगाडि नबढ्दा समस्यामा छौँ।” अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पानी जम्ने समस्या हुँदा पानीजन्य संक्रामक रोग फैलिने सम्भावना उत्तिकै रहेको उनको भनाइ छ। 

अस्पताल क्षेत्रको सडकमा नाला निर्माण पूरा नहुँदा समस्या भएको सोही क्षेत्रका वडाध्यक्ष किशोरीप्रसाद चौधरीले जानकारी दिए। आधा नाला अघिल्लो नगरप्रमुखको कार्यकालमा निर्माण भइसकेको र आधा कामका लागि पहल भइरहेको उनको भनाइ छ। “नगरसामु अनुरोध गर्‍यो, वडाले बनाउनु भन्नुहुन्छ। हाम्रो स्रोत र साधनले भ्याउँदैन,” उनले भने। 

नगरप्रमुख रामऔतार यादवले पानी निकासमा आएको समस्याका बारेमा बुझेर चाँडै निराकरण गर्ने बताए।