बागलुङको निसीखोला गाउँपालिका–५ र ६ मा बोलिने मगर खाम भाषाको प्रयोग हुन छाडेको छ। पश्चिममा संस्कृतिको प्रभावले मौलिक कला र संस्कृति लोप हुँदै गएको बुढापाका बताउँछन्।
ढोरपाटन– मगर खाम भाषा संकटमा परेसँगै लोप हुने जोखिम बढेको छ। शहरीकरण, विदेश पलायन, आधुनिकीकरणलगायत कारणले भाषा संकटमा पर्न थालेपछि लोप हुने जोखिम बढेको भन्दै बुढापाका चिन्तित भएका हुन्।
बागलुङको निसीखोला गाउँपालिका–५ र ६ मा बोलिने यो भाषा पछिल्लो समय कम प्रयोग हुन थालेको छ। पछिल्लो समय गाउँमा बुढापाका मात्रै बस्ने र यो भाषा बोल्ने गरेका छन्। एकदशक अगाडिसम्म ढोरपाटन नगरपालिका–७, ८ र ९ मा पनि खाम भाषा बोल्ने गरिएकामा अहिले प्रयोग हुन छोडेको निसीखोला–६ का भक्तबहादुर बुढा मगरले बताए। निसीखोलामा पनि भाषा हराउँदै जाने जोखिम बढेको भन्दै उनले चिन्ता व्यक्त गरे।
भाषासँगै पश्चिममा संस्कृतिको प्रभावले मौलिक कला र संस्कृति पनि लोप हुन थालेको बुढापाका बताउँछन्। यसलाई संरक्षण गर्नुपर्ने दायित्व स्थानीय सरकारले गर्नुपर्नेमा उनीहरूको जोड छ। मगर खाम भाषा मगर समुदायले मात्रै नभई निसीखोलामा दलित समुदायले पनि बोल्ने गर्थे। “पहिलेपहिले लेकबेँसी र घाँसदाउरा गर्दा मगर खाम भाषामा गीत गुनगुनाउने गरिन्थ्यो। अचेल नयाँ पुस्तालाई कुराकानीमा पनि समस्या हुने गर्दछ,” भक्तबहादुरले भने, “यो भाषा आफ्नो समुदायको पहिचान, संस्कृति र आस्था हो।”
कहिलेदेखि बोल्दै आएको यकिन दस्ताबेज नभए पनि यो भाषा सयौँ वर्ष पुरानो रहेको जनाइएको छ। ७१ वर्षीय भक्तबहादुरले आफ्ना छोराछोरीले मातृ भाषा राम्रोसँग बोल्न सके पनि नाति पुस्ताले बोल्न छोडेका बताए।
“हाम्रा बाउबाजेले नेपालीभन्दा पनि सबै खाम भाषामा बोल्थे। हामीहरूले उहाँहरूबाट सबै कुरा सिकेर त्यस्तै अनुसरण गर्यौं,” उनले भने, “हामी गाउँ छोडेर कतै गएनौँ, मातृ भाषामा गीत गाउँदै, नाच्दै खेतीपातीको काम गर्थ्यौं। अहिलेका युवा पुस्ता उच्च शिक्षा, रोजगारीलगायत बहानामा शहर बजार झर्छन्। उतै बस्ने, पढ्ने र उतैको भाषा बोल्छन्, हाम्रो भाषा हराउँदै गयो।”
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले मगर खाम भाषा संरक्षणका लागि विद्यालय स्तरबाट लाग्नुपर्ने बताए। पालिकाले मगर खाम भाषामा पाठ्यपुस्तक तयार गरिसकेको र भदौदेखि पठनपाठन थाल्ने योजनामा रहेको उनले सुनाए।
पहिलो जिम्मेवारी परिवारको भएकाले परिवारले आफ्ना सन्तानलाई मातृ भाषा सिकाउनुपर्ने र जिम्मेवार बन्नुपर्ने अध्यक्ष मगरको भनाइ छ। “बालबालिकालाई खाम भाषामा सांस्कृतिक कार्यक्रम गर्ने, गीत गाउने, बोल्न सिकाउने गर्न सकिन्छ। नियमित पठनपाठनका लागि शिक्षकको समस्या छ, निजी स्रोतबाट भए पनि शिक्षक व्यवस्थापन गरेर पठनपाठन गराउने छौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
