हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो

नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ शिवपुरी जंगलको सूर्यचौर क्षेत्रमा बुधबार हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएकाहरूको शव पोस्टमार्टमका लागि अस्पताल लग्दै सुरक्षाकर्मी। तस्वीर : हरिराम भेटुवाल/रासस

काठमाडौँ– नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ शिवपुरी जंगलको सूर्यचौर क्षेत्रमा बुधबार हेलिकप्टर दुर्घटनामा परी एक नेपाली तथा चार चिनियाँ नागरिकको मृत्यु भएको थियो। 

हेलिकप्टरका क्याप्टेन अरूण मल्लको शव परीक्षण गरी परिवारको जिम्मा लगाउने तयारी छ। चिनियाँ नागरिकको शव परीक्षणका लागि काठमाडौँस्थित चिनियाँ राजदूतावाससँग समन्वय भइरहेको व्यवस्थापक पण्डितले जानकारी दिए।