बागलुङ पहिरोमा बेपत्ता भएकामध्ये थप २ जनाको शव फेला, १ को खोजी जारी

बागलुङको बडिगाडमा पहिरोमा परेर बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ भने एक जनाको खोजी जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बागलुङ– गत मंगलबार बिहान बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परेर बेपत्तामध्ये बिहीबार थप दुई जनाको शव फेला परेको छ। एक जना अझै बेपत्ता छन्।

११ वर्षीय सुमन थापा अझै बेपत्ता रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत ढकालले जानकारी दिए। पहिरोले घर पुरिँदा बेपत्ता भएका थापाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरी खोजी कार्य भइरहेको उनको भनाइ छ।

पहिरोमा परेर बेपत्ता ११ वर्षीय मनोज बुढाको शव बिहीबार साँझ फेला परेको हो भने बिहान सात वर्षीया मधु बुढाको शव फेला परेको थियो।

पहिरोले घर पुरिँदा स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिने छोरी सीता विक र ७० वर्षीया मैतीदेवी विकको शव मंगलबार नै फेला परेको थियो। तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए।

बिहीबार दुई जनाको शव फेला परेको उनको भनाइ छ। बिहान सात वर्षीया मधुको र केही बेर अगाडि मनोजको शव फेला परेको अध्यक्ष अधिकारी बताउँछन्। 

अध्यक्ष अधिकारीका अनुसार पहिरामा परी घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया संगीता बुढाको अवस्था गम्भीर भएको हुँदा हेलिकप्टरमार्फत काठमाडौँस्थित ट्रमा सेन्टरमा ल्याएर उपचार हुँदैछ।