शुक्रबार नागपञ्चमी, घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदै

परम्पराअनुसार नागको पूजाअर्चना र घरको मूलढोकामा तस्वीर टाँसेर मनाइने यस पर्वका दिन देशभरका नाग मन्दिर तथा पोखरीमा भक्तजनको घुइँचो लाग्ने लागेको छ।

काठमाडौँ– प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व शुक्रबार घरका मूलढोकामा नागको तस्वीर टाँसी मनाइँदै छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने तथा अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ।

वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ। वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि यस दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ।

उदयकालको पञ्चमी तिथि भएकाले दिनभर नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चांग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुंगेलले जानकारी दिए। काठमाडौँका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ।

नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्‌लाई नागका रूपमा मानिन्छ ।

नागका १२ नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने परम्परा छ। यसैदिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोकट र शंख गरी अष्टनागलाई पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ।

नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ। वाल्मीकि क्याम्पसका प्राडा देवमणि भट्टराई दूषित हावालाई निलेर वातावरण सन्तुलन गर्न उपकारीकार्य गरेकाले प्रत्येक वर्ष नागपञ्चमीका दिन नागको पुजाअर्चना गर्ने प्रचलन रहेको बताउँछन्। “प्रदूषणयुक्त विषालु जीवलाई नागले पान गरेर चराचर जगत्‌लाई नै कल्याण गर्ने कुरालाई बुझेर ऋषिमुनीहरूले नागको पूजा गर्नुपर्छ भनेर पञ्चमी थिति निर्धारण गरे,” उनले भने।