सर्पको टोकाइबाट बर्दियामा २ बालबालिकाको मृत्यु, १ घाइते

गुलरिया नगरपालिका–१ मा नौ महिनाको बालक मायरा चौधरी र ११ वर्षीया सोनिमा चौधरीको सर्पको टोकाइबाट बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।

गुलरिया– बर्दियामा सर्पको टोकाइबाट एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ। 

गुलरिया नगरपालिका–१ का नौ महिनाको बालक मायरा चौधरी र सोही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको टोकाइबाट बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, मधुवन नगरपालिकाकी ६ वर्षीया रिया चौधरी घाइते भएकी छन्। 

घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको पैतलामा पहिचान नखुलेको सर्पले डसेको थियो। सोनिमा घरमा सुतिरहेको अवस्थामा एक्कासी बिरामी भई अचेत अवस्थामा बर्दिया अस्पताल गुलरियामा पुर्‍याएकोमा चिकित्सकले सर्पको टोकाइबाट मृत्यु भएको घोषणा गरेको बर्दियाका डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए। 

प्रहरीका अनुसार बालकलाई सर्पले टोकेको तीन घण्टापछि र बालिकालाई साढे पाँच घण्टापछि परिवारले अस्पताल पुर्‍याएका थिए। सर्पको टोकाइबाट मधुवन–२ ओराली बजार घर भई हाल गुलरिया–१ बस्ने रिया बिरामी भएपछि स्थानीय मेडिकलमा सामान्य उपचारपछि बर्दिया अस्पताल लगिएको थियो। हाल उनलाई भेरी अस्पताल नेपालगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ।