विश्व आदिवासी दिवस मनाइँदै, काेशी प्रदेशमा सार्वजनिक बिदा

सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले अगस्त ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।

फाइल तस्वीर।

काठमाडौँ– विश्व आदिवासी दिवस, शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरेर मनाइँदै छ। संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभरका आदिवासी जनजातिहरूले सन् १९९५ देखि हरेक वर्ष अगस्त ९ मा दिवस मनाउने गरेका छन्। 

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। विश्व आदिवासी दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन्। दिवसको यस वर्षको नारा ‘संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर’ तय गरिएको छ।  

सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले अगस्त ९ लाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। राष्ट्र संघले सन् १९९४ देखि सन् २००४ सम्म ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आदिवासी दशक बनाएको थियो।

काठमाडौँको बानेश्वरमा जनजाति आयोगले पनि कार्यक्रमको आयोजना गरेको छ। दिवसका अवसरमा विभिन्न स्थानमा बिदा पनि दिइएको छ। कोशी प्रदेश सरकारले शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको अवसर पारेर सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता लीलाबल्लभ अधिकारीले जानकारी दिए। अन्य प्रदेशमा पनि विभिन्न पालिकाहरूले बिदा दिएका छन्।