सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेंगी संक्रमण

एक महिनामा जिल्लामा ३० जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ। सोताङ गाउँपालिकामा २७ जनामा संक्रमण देखिएकोमा उनीहरूको ‘ट्राभल हिस्ट्री’ नरहेको कार्यालयको भनाइ छ।

सोलुखुम्बु– सोलुखुम्बु सदरमुकाम सल्लेरीका पशी शेर्पा विगतमा लामखुट्टेबाट सार्ने रोगको जोखिममा परेका थिएनन्। उनलाई लामखुट्टेको टोकाइबाट रोग लाग्छ र सर्दछ भन्ने जानकारीसम्म थिएन। तर पछिल्लो दुई वर्षदेखि सल्लेरीमै लामखुट्टेबाट सार्ने रोगको जोखिम बढ्न थालेपछि उनी चिन्तित छन्। “म गाउँ छोडेर अन्यत्र गएको छैन। पछिल्ला वर्षमा लामखुट्टे देखिन थालेको छ,” उनले भने। 

विशेष गरी गर्मीका समयमा भित्री मधेश, पहाडी क्षेत्रमा देखिने लामखुट्टे अहिले उच्च हिमाली भेगमा पनि बिस्तारै फैलिँदै गएको छ। सल्लेरी सहितका क्षेत्रमा अहिले लामखुट्टेको संख्या बढ्दै गएको स्थानीय बताउँछन्। शुरूशुरूमा यातायातका साधनमार्फत भित्रिएका लामखुट्टे यहीको वातावरणसँग घुलमिल हुँदा र हिमाली क्षेत्रमा तापक्रम निरन्तर उकालो लागेसँगै गर्मी ठाउँमा मात्रै बाँच्न सक्ने लामखुट्टे हिमाली भेगमा देखिन थालेको सल्लेरीका केबी घिमिरेले बताए। 

“यहाँको तापक्रम बढ्दै गएको छ, सल्लेरीमै पनि घाम लागेको बेला निक्कै गर्मीको महसुस हुन्छ, हिउँदमा हिउँ पर्न नै छोडिसक्यो, अनि लामखुट्टे त फैलिहाल्छ नि,” उनले भने।सल्लेरीमा अहिले तापक्रम २५ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने गरेको हावापानी मापन केन्द्र सल्लेरीका मापन केन्द्र सहयोगी नवराज पराजुलीले बताए। उनका अनुसार सल्लेरीको तापक्रम बिहान र बेलुका नै २२/२३ डिग्रीसम्म तापक्रम पुग्ने गर्दछ। 

बर्सेनि यहाँको अधिकतम तापक्रम निरन्तर बढ्दै गइरहेको उनको भनाइ छ। यसका कारण लामखुट्टेको संख्या समेत वृद्धि भएको बताइएको छ। लामखुट्टेको संख्या बढेसँगै सल्लेरीसहित, सोताङ, नेचासल्यान, माप्यदुधकोशी लगायतका क्षेत्रमा झुल तथा यसविरुद्ध धूपको प्रयोग शुरू भएको छ। लुक्लाभन्दा केही तलको गाउँ खरीखोलासम्म लामखुट्टे फैलिएको स्थानीय बासिन्दा रामबहादुर मगर बताउँछन्। 

पासाङ शेर्पा झुल तथा लामखुट्टे नष्ट गर्ने धूप प्रयोग गर्न बाध्य बनेको बताउँछन्। तापमान बढेर हिमाली क्षेत्रको जनजीवन र बालीनालीमा असर पारिरहेको जलवायुका जानकार राजन थापाले बताए। तापक्रम वृद्धिले हिमाललाई असर पारिरहेका छन्। यसबाट डेंगीको संक्रमणको जोखिम बढेको जनाइएको छ। पहाडी भेगमा ०.०६ प्रतिशत र हिमाली भेगमा ०.०४ प्रतिशतका दरले तापक्रममा वृद्धि भइरहेको छ। प्राकृतिक एवं मानवीय कारणबाट विश्वव्यापी तापमान बढिरहेको विज्ञहरू बताउँछन्। 

सोलुमा बढ्दै डेंगीको संक्रमण
सोलुखुम्बु सोताङका ५३ वर्षीय एक पुरुष पाँच दिनसम्म कडा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, शरीर दुख्नेलगायत समस्या देखिएपछि प्राथमिक अस्पताल सोताङ पुगे।  नमूना जाँच गर्दा उनलाई डेंगीको संक्रमण पुष्टि भएपछि चिकित्सकको सल्लाहमा घरमै बसेर औषधि सेवन गरिरहेका छन्।  

यहाँ डेंगीको संक्रमण बढ्दै गएको छ। पछिल्लो एक महिनामा जिल्लामा ३० जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यालयका महामारी फोकल पर्सन अशोक शिवाकोटीका अनुसार हालसम्म जिल्लाभरमा २० जना पुरुष र १० जना महिलामा डेंगीको संक्रमण पुष्टि भएको छ। उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ। जिल्लाको सोताङ गाउँपालिकामा मात्रै २७ जनामा संक्रमण पुष्टि भएको छ। 

१५० जनाको नमूना परीक्षण गर्दा २७ जनाको रिपोर्ट सकारात्मक आएको महामारी फोकल पर्सन शिवकोटीले बताए। यसमा पुरुष १९  र महिला आठ छन्। “सोताङमा संक्रमित भएका सबै जसोको ‘ट्राभल हिस्टी’ देखिएन, उनीहरू गाउँमै बस्दै आएका थिए तर ती व्यक्तिहरूलाई समेत संक्रमण पुष्टि भएपछि सोलुमा पनि डेंगी फैलिएको पुष्टि भयो,” उनले भने।

विशेष गरी डेंगी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। लामखुट्टेको मात्रा बढी रहेका ठाउँमा यसबाट बच्नलाई पानी जम्ने भाँडाकुँडा तथा खाल्डाखुल्डी भएका ठाउँमा यसको लार्भा हुने भएकाले त्यस्ता ठाउँहरूलाई पूर्ण रूपमा विस्थापित गर्न सके केही कम हुने फोकल पर्सन शिवाकोटीले बताए।

उक्त अभियानअन्तर्गत स्वास्थ्य कार्यालयले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गरेको थियो। ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिहरूमा समेत डेंगीको संक्रमण पुष्टि हुने क्रम बढेपछि कार्यालयले घर वरिपरिका खाल्डाखुल्डीमा जमेका पानीलाई विस्थापित गर्ने र लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गरेको हो।

यसले सर्वसाधारणलाई जनचेतना फैलिन सहयोग गर्ने भएकाले कार्यालयले शुरूआतमा अभियान चलाएको फोकल पर्सन शिवाकोटीले बताए। डेंगीको संक्रमण फैलिएको धेरै लामो समय नभएकाले लामखुट्टेको टोकाइबाट बच्नेबारे जनचेतना फैलाउन र बुझाउन समेत केही समस्या भएको स्वास्थ्यकर्मीहरू बताउँछन्।