कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणसामु प्राप्त उपलब्धिलाई संस्थागत गर्नु, उत्पादित विद्युत्को बजार व्यवस्थापन तथा विद्युत् आपूर्तिको नियमितता र गुणस्तर वृद्धिजस्ता चुनौती रहेको बताएका छन्।
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिनमा प्राधिकरणसामु तीन वटा चुनौती रहेको औँल्याएका छन्।
शुक्रबार नेपाल विद्युत् प्राधिकरणले विगत एक वर्षमा गरेका काम कारबाही र समसामयिक विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा निर्देशक घिसिङले प्राप्त उपलब्धिलाई संस्थागत गर्नु, उत्पादित विद्युत्को बजार व्यवस्थापन तथा विद्युत् आपूर्तिको नियमितता र गुणस्तर वृद्धि गर्नु प्राधिकरणसामु रहेका चुनौतीका रूपमा प्रस्तुत गरेका हुन्।
“आगामी दिन प्राधिकरणका लागि थप चुनौतीपूर्ण छन्। अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्नु पहिलो चुनौती हो। उत्पादित विद्युत्को बजार व्यवस्थापन दोस्रो चुनौतीको रूपमा रहेको छ। विद्युत् आपूर्तिको नियमितता र गुणस्तर वृद्धि गर्नु तेस्रो चुनौती रहेको छ,” उनले भने।
उनले चुनौती समाधान गरी आगामी दिनमा मुलुकभरका नागरिकलाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्न नाफासहितको सक्षम, सबल प्राधिकरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे।
उनले ८ वर्षको अवधिमा प्राधिकरणले उल्लेख रूपमा नाफा कमाउन सफल भएको बताए। आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरण त्यसयता भने ती दिन फर्केर हेर्नु नपरेको उनको भनाइ थियो।
“आर्थिक वर्ष २०७३/७४ मा एक अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै प्राधिकरणले शुरू गरेको आफ्नो गौरवमय नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ,” उनले भने, “८ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ।”
उनले विगत ८ वर्षको अवधिमा मात्रै प्राधिकरणले करिब एक खर्ब रुपैयाँ पुँजीगत लगानी गरेको जानकारी दिए। उनका अनुसार यो अवधिमा प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरूमा ५७ अर्ब ६८ करोड रुपैयाँ बढी लगानी गरेको छ।
उनका अनुसार प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ। “प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ। प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि दुई खर्ब ११ अर्ब रुपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ,” उनले भने।
प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मूल्यांकन गरेको र जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको उनको भनाइ थियो।
“देशभर रहेको जग्गाको यकिन गरी करिब ४० हजार २०० रोपनी जग्गाको पहिचान भएको छ भने गत वर्ष मात्र काठमाडौँ उपत्यकाभित्रको करिब ७२ रोपनी १२ आना जग्गाको पुर्जा प्राप्त भएको छ,” उनले भने।
देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम निर्यात भइरहेको निर्देशक घिसिङको दाबी छ।
उनले सुख्खा याममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो हुने भन्दै गत आर्थिक वर्षमा भारतबाट एक अर्ब ९१ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको जानकारी दिए।
सन् २०३५ भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहितको सरकारको कार्ययोजना पूरा गर्न प्राधिकरण क्रियाशील रहने रहेको पनि उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
