मन्त्रालय बाँडफाँट तथा राज्यमन्त्री थपबारे मधेशका मुख्यमन्त्रीसँग स्पष्टीकरण माग

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग जनमत पार्टीले मन्त्रालय बाँडफाँट र राज्यमन्त्री थपबारेमा जानकारी माग गरेको छ।

काठमाडौँ– मधेश प्रदेशसभा संसदीय दलका नेता तथा मुख्यमन्त्री सतिशकुमार सिंहसँग जनमत पार्टीले मन्त्रालय बाँडफाँट र राज्यमन्त्री थपेको भन्दै असन्तुष्टि जनाएको छ।

पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले मुख्यमन्त्री सिंहले पार्टीसँग समन्वय नगरेर जिम्मेवारी बाँडफाँट र सरकार विस्तार गरेको भन्दै आवश्यक जानकारी माग गरेको बताए। जनमतले परिणाम देखिने गरी जनताको हकहितको लागि मन्त्रालयको काममा ध्यान दिनुभन्दा मुख्यमन्त्रीले अनावश्यक उद्घाटन समारोहमा समय खर्चिएको, पार्टीले दिएको निर्देशन बेवास्ता गरेको आरोप लगाएको छ।

“जनमतले परिणाम देखिने गरी काम गर्नुपर्नेछ तर मुख्यमन्त्री भने उद्घाटनमै व्यस्त हुनुहुन्छ। यसैगरी बजेट बनाउने क्रममा सांसदलाई पाँच करोड रुपैयाँ दिने विवादास्पद अभिव्यक्ति दिई पार्टीको छविमा बारम्बार आँच पुर्‍याएकोलगायत विषयमा उहाँलाई पार्टीले स्पष्टीकरण सोधेको हो,” प्रवक्ता यादवले भने।