वर्तमान गठबन्धनको विकल्प सोचेका छैनौँ : माओवादी

माओवादी केन्द्रका महासचिव देव गुरुङले गठबन्धनको विकल्प नसोचेको बताएका छन्। उनले सरकार निर्माण तथा निर्वाचन समीक्षा भोलि बस्ने गठबन्धनको बैठकले गर्ने बताए।

काठमाडौँ- नेकपा माओवादीका महासचिव देव गुरुङले गठबन्धनको विकल्प नसोचेको बताएका छन्। 

माओ‌वादीको पदाधिकारी बैठकपछि बोल्दै गुरुङले तत्कालका लागि अरूसँग गठबन्धन गर्ने कुनै योजना नभएको बताए। 

उनले सरकार गठनबारे उल्लेख्य छलफल हुन नसकेको बताउँदै सरकार निर्माण लगायतका कुराको छिनोफानो गठबन्धनको बैठकबाट हुने बताए। गठबन्धनमा निर्वाचन परिणामको समीक्षा गरिनेसमेत उनले बताए। उनले भने, “सरकार गठनका विकल्पबारे कुरा भएको छैन। गठबन्धनमा रहँदा कति कुरा मिल्छन्, कति मिल्दैनन् भन्ने कुरा गठबन्धनमै भरपर्छ।”

त्यस्तै, गुरुङले माओ‌वादीका लागि निर्वाचन अनपेक्षित रहेको बताउँदै पदाधिकारी बैठक निर्वाचनको समीक्षामा केन्द्रित भएको बताए। 

उनले भने, “समग्रमा हाम्रा लागि निर्वाचन अनपेक्षित छ। अब पार्टीलाई कसरी अगाडि बढाएर लैजाने भन्ने नै मुख्य कुरो हो। हामी निर्वाचनको समीक्षामा केन्द्रित छौँ।”