अर्थतन्त्र जोगाउन माग गर्दै अर्थमन्त्रीलाई भेट्न पुगे व्यवसायी

उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले अर्थतन्त्रमा देखिएको विद्यमान समस्या समाधान गर्न नसकेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई समन्वयकारी भूमिका खेल्न आग्रह गरेको छ।

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र जोगाउन सहकार्य एवं समन्वयका लागि अर्थमन्त्री जनार्दन शर्मालाई आग्रह गरेको छ। 

अर्थतन्त्रमा बहुआयामिक असर परेको र चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेको भन्दै विशेष पहल गर्न महासंहले आग्रह गरेको हो। 

अर्थमन्त्रीसँगको भेटवार्ताका क्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले राजश्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र निजी क्षेत्र संकुचित हुँदै गएको बताए। 

चालु पूँजी मार्गदर्शन २०७९ को कार्यान्वयन कम्तीमा दुई वर्ष स्थगन गर्नुपर्ने माग पनि महासंघले पुन दोहोर्‍याएको छ।

मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेपको ब्याजअन्तर (स्प्रेडदर) घटाउने निर्णयले  ब्याजदर थप बढ्नबाट रोकिए पनि घट्ने सम्भावना भने नरहेको महासंघको भनाई छ। 

ब्याजदर नघट्ने हो भने अर्थतन्त्र जोगाउन कठिन देखिएकाले तत्काल बजारमा तरलता प्रवाह गर्ने र ब्याजदर घटाउने उपाय सरकार र केन्द्रीय बैंक दुवैले खोज्नुपर्ने महासंघको माग छ।

जवाफमा अर्थमन्त्री शर्माले महासंघले अर्थतन्त्रको जोखिम कम गर्न सुधारका लागि गरेको पहललाई सकारात्मक रूपमा लिएको भन्दै सरकार, केन्द्रीय बैंक र निजी क्षेत्र सहकार्य गरी अघि बढ्ने बताएका छन् ।