महभन्दा मौरीसहितको घारको माग बढी भएकोले उनले माउ उत्पादनमा जोड दिएका छन्। उनले उत्पादन र निर्माण गरेका मौरीसहितको घार १० हजारका दरले बिक्री गर्छन्।
मन्थली– रामेछाप नगरपालिका–२ सुकाजोरका कृष्णबहादुर मगर शहरको रोजगारी छाडेर गाउँमै मौरीपालन गरी मासिक ५० हजार आम्दानी गरिरहेका छन्।
सानै उमेरमा शहर पसेका उनी कोरोना कहरका कारण गाउँ फर्किएका थिए। कोरोनापछि लामो समय गाउँमा बस्नुपर्दा मगरले शुरूमा कुखुरापालन गरे। कुखुराबाट खासै आम्दानी नभएपछि मौरीपालन गर्ने सोच बनाए। ललितपुरको गोदावरीमा गई मौरी पालनसम्बन्धी तालिम लिए। त्यसपछि मौरीपालन थालेका हुन्।
मेलिफेरा जातको १० घार मौरीबाट व्यवसाय शुरू गरेका थिए। “त्यसपछि मैले ६ घार सेरेना जातको मौरी थपेँ, यो व्यवसाय गरेको तीन वर्ष भयो आम्दानी राम्रै छ,” उनले भने। मौरीपालनसँगै मौरीका नयाँ घार उत्पादन गरी घारसहितका मौरी पनि बिक्री गर्ने उनले सुनाए। महभन्दा घारसहितको मौरी बिक्री चाँडो हुने र त्यसबाट बढी फाइदा हुने उनको अनुभव छ। मह र घार बिक्रीबाट उहाँले वार्षिक खर्च कटाएर ६ लाख हाराहारी कमाइ हुने गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा मौरीपालन व्यवसाय प्रवर्द्धनका लागि रामेछाप नगरपालिकाबाट तीन लाख अनुदान पाए। एक लाख १५ हजार लगानी गरी मौरीपालन शुरू गरेका थिए। सबैभन्दा बढी खर्च मह काढ्ने मेसिनमा लागेको उनको भनाइ छ। पछि आफैँले घार निर्माण गर्न थालेपछि अहिले बगैँचामा मेलिफेरा र सेरेना जातका ७० घार माहुरी छन्। मेलिफेरा जातका मौरीले वर्षमा चार/पाँचपटक मह उत्पादन गर्छ। यसले एक पटक मह काढ्दा एक घार बराबर १० देखि १५ केजीसम्म मह दिन्छ। सेरेना (लोकल) जातको माहुरीको घारबाट भने वर्षमा दुईपटक मात्र मह निकाल्न मिल्ने उनले बताए।
महभन्दा मौरीसहितको घारको माग बढी भएकोले उनले माउ उत्पादनमा जोड दिएका छन्। उनले उत्पादन र निर्माण गरेका मौरीसहितको घार १० हजारका दरले बिक्री गर्छन्। सेरेना जातको माहुरीको मह प्रतिकिलो एक हजारदेखि एक हजार २०० सम्ममा बिक्री हुन्छ। १८ वर्षसम्म शहरमा रोजगारी गर्दा पैसा कमाउन नसकेका मगर अहिलेको सन्तुष्ट छन्। “देशका युवा लाइन लागेर विदेश गएको देख्दा आफूलाई पनि जान मन लागेको थियो, तर विदेश गएर फर्केका साथीको अनुभव सुन्दा नजाने अठोट लिएर गाउँमैे काम गर्न थालेका हुँ,” उनले भने।
मौरीपालन सुरु गरेको दुई वर्ष लगानी थप्दै जानुपर्ने र उत्पादन नहुनेजस्ता समस्या थियो। तेस्रो वर्षदेखि धमाधम उत्पादन हुन थालेपछि लगानी उठेको उनको अनुभव छ। कम मेहनत र लगानीमा राम्रो आम्दानी हुने यो व्यवसायका लागि विभिन्न स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रममा मौरीपालन समावेश गरेका छन्। सोही अनुसार सुनापति गाउँपालिकाले एक सयवटा मौरीसहितको घार माग गरेको छ। रानीसहितको कर्मी मौरी उत्पादन गर्न केही समय लाग्ने भएकाले तत्काल मौरी उपलब्ध गराउन नसकिने उनी बताउँछन्।
मौरीलाई अरिंगाल र मलसाप्रोबाट जोगाउन निकै समस्या हुन्छ। धेरै घार भएपछि घर वरिपरि मात्र राखेर नहुने भएकाले बारीको कान्लामा राख्ने गरेकाले त्यहाँ अरिंगाल र मलसाप्रोले दुःख दिने गरेको छ। घारभित्रको महमा कमिलाले दुःख दिने भएकाले कमिलाबाट जोगाउन ‘स्ट्यान्ड’ बनाएर राख्नुपर्ने र मलसाप्रोबाट जोगाउन ढुङ्गाले थिचेर राख्नुपर्छ। उहाँले अर्को वर्षसम्ममा तीन सय घार मौरी पाल्ने योजना बनाउनुभएको छ। प्रायः मौरीपालक किसानले धेरै र चाँडो मह निकाल्न घार नजिक चिनी र चास्नी बनाएर राखिदिने गरे पनि आफूले त्यस्तो नगरेको र चास्नी बनाएर दिइरहनु नपर्ने उनको भनाइ छ।
मौरीको घार विस्तार गर्दा रानी बनाउन कृत्रिम प्रविधि नअपनाई प्राकृतिक तरिकाले रानी उत्पादन गर्ने गरेको उनी बताउँछन्। “घार फुटाएपछि मौरीहरूले आपत्कालीन रानी तयार पार्छन् रानी हराएको अवस्थामा तीन/चार दिनको लार्भा अण्डा हालेर भए पनि तुरुन्तै रानी उत्पादन गर्ने भएकाले कृत्रिम तरिकाले रानी उत्पादन गरिरहनु पर्दैन।”
उनले उत्पादन गरेको मह सदरमुकाम मन्थली छिमेकी जिल्ला दोलखा, सिन्धुली, काठमाडौँ र भक्तपुरका बजारमा बिक्री हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
