ग्यांगस्टर पक्रिन १० हजार सैनिक परिचालन

शहरमा फैलिएको ग्यांगस्टरको आतंक कम गर्न भन्दै मध्य अमेरिकी मुलुक एल साल्भाडोरमा सेना परिचालन गरिएको छ।

मध्य अमेरिकी मुलुक एल साल्भाडोरको सोयापांगो शहरमा आइतबार १० हजार सैनिक परिचालन गरिएका छन्। विभिन्न आपराधिक गतिविधिमा संलग्न गिरोह (ग्यांग) का सदस्यहरूको खोजीका लागि भन्दै एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले दश हजार सेना परिचालन गरेका हुन्। 

राष्ट्रपति बुकेलेले सो शहरका एक एक ग्यांग सदस्यहरूलाई बाहिर निकाल्नका लागि प्रहरी र सेना परिचालन गरिएको बताए। यो दबाब र शहरबन्द अपराधीविरुद्धको कारबाही भएको बताउँदै राष्ट्रपतिले सर्वसाधारणलाई नडराउन आग्रह समेत गरेका छन्। राइफल बोकेका र बडी आर्मर लगाएका सशस्त्र सैनिकहरू बाक्लो संख्या परिचालन भएको बीबीसीले उल्लेख गरेको छ।

सोयापाङ्गो शहर जोड्ने सबै सडक बन्द गरी विशेष सैन्य बलले ग्यांगका सदस्यहरूका घर खोजी गरिरहेको छ भने शहर बाहिरिने सर्वसाधारणमा निगरानी बढाइएको र जाँच बिन्दुमा परिचय कागजात देखाउन अनिवार्य गरिएको बीबीसीले उल्लेख गरेको छ। यस क्रममा १२ जना पक्राउ परेको त्यहाँका न्यायमन्त्रीको भनाइ छ।

दुई लाख ९० हजारभन्दा बढीको बसोबास रहेको सोयापाङ्गो एल साल्भाडोरका ठूला शहरहरूमध्ये एक हो। राजधानी सान साल्भाडोरदेखि १३ किलोमिटरको दूरीमा रहेको सो शहर आपराधिक गिरोहहरूको अखडाका रूपमा चिनिने गरेको छ।

यसअघि पनि राष्ट्रपति बुकेलेले मार्च महिनामा संकटकाल घोषणा गरी ५८ हजारभन्दा बढीलाई जेल चलान गरेका थिए। 

आपराधिक गिरोहमा संलग्नविरुद्ध सरकारले बेलाबेला ठूलो संख्यामा सैनिक खटाएर कारबाही गर्दै आएको छ भने प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउपूर्जी बिना नै हिरासतमा लिने गरेको छ। यसले सरकारले मनोमानी गर्ने छुट पाएको भन्दै अधिकारवादीहरूले आलोचना गर्दै आएका छन्।

बुकेलेले सरकारले भने यी गिरोहले शुरू गरेको हत्याको शृंखला अन्त्यका लागि सरकारी हस्तक्षेप आवश्यक रहेको बताएको छ। आपराधिक समूहले गत मार्च २६ मा एकैदिन ६२ जनाको हत्या गरेको सरकारी तथ्यांक छ।

मध्य अमेरिकी विश्वविद्यालय (यूसीए) ले हालै गरेको एक सर्वेक्षणले एल साल्भाडोरका ७५ शमलव ९ प्रतिशत जनता संकटकालको पक्षमा उभिएको देखाएको बीबीसीले उल्लेख गरेको छ।