प्रशोधित पिउने पानीको बोतलभित्र कीरा भेटिएपछि काठमाडौँ महानगरले अनामनगरस्थित किम्ची रेस्टुरेन्ट एन्ड फास्टफुडलाई दुई लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरेको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले बोतलबन्द खानेपानीमा अखाद्य वस्तु भेटिएपछि अनामनगरस्थित किम्ची रेस्टुरेन्ट एन्ड फास्टफुडलाई दुई लाख रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ। प्रशोधित पिउने पानीको बोतलभित्र कीरा भेटिएपछि महानगरले उक्त रेस्टुरेन्टलाई कारबाही गर्ने निर्णय गरेको हो।
महानगरले गत शुक्रबार रेस्टुरेन्टको हलमा ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयक कार्यक्रम आयोजना गरेको थियो। यो महिला सञ्जालका संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्तालाई अभिमुखीकरण दिने कार्यक्रम हो।
सोक्रममा बोतल सिल गरेको प्रशोधित पानी पिउन खोज्दा वडा नम्बर ११ का वडा सदस्य यशोमति परियारले पानीमा कीरा सलबलाएको देखिन्। त्यसपछि कार्यक्रममा उपस्थित महानगर उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाइयो।
अनुगमन समितिका संयोजकसमेत रहेकी उपप्रमुख डंगोलले दूषित पानी बिक्री गर्ने रेस्टुरेन्टलाई तत्काल कारबाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिइन्। त्यसपछि कार्यक्रम रोकिएको थियो।
“पानीजन्य संक्रमणको जोखिम बढिरहेको अवस्थामा सिलबन्द बोतलभित्र अखाद्य वस्तु देखिनु चरम लापरबाही हो। महानगरपालिकाले खानेकुरा तथा पिउने पानीको स्वच्छतामा लापरबाही नगर्न व्यवसायीहरूलाई अनुरोध गर्दै आएको छ,” उक्त घटनापछि उपप्रमुख डंगोलले भनिन्, “अनुरोधलाई अटेर गर्नेहरूलाई कानूनी कारबाही दायरामा ल्याउनुको विकल्प छैन।”
त्यसपछि तत्काल अनुगमन टोली पुगेर रेस्टुरेन्टबाट नमूना संकलन गरेको थियो। सम्पूर्ण प्रक्रिया सकिँदासम्म कार्यालय समयसमेत सकिएकाले शुक्रबार कारबाहीको निर्णय हुन सकेन।
महानगरले आइतबार दूषित पानी बिक्री गर्ने उक्त रेस्टुरेन्टलाई दुई लाख जरिबाना गर्ने निर्णय गरेको हो। रेस्टुरेन्टबाट बिक्री भइरहेको पानी काठमाडौँको टोखा–८ मा रहेको सिटी मिनरल वाटर एन्ड वेवरेज प्रालिले उत्पादन गरेको ‘इको’ ब्रान्डको हो।
यसअघि खाद्य स्वच्छता कायम गर्न नसक्दा महानगरले आफ्नै कार्यालयमा सञ्चालित क्यान्टिनलाई समेत दुई पटक जरिबाना तिराएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
