भारतको एक मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु, १६ घाइते

बिहारको जेहानाबाद जिल्लामा रहेको बाबा सिद्धेश्वर नाथ मन्दिरमा सोमबार बिहान भागदौड मच्चिएको हो।

साउन महिनाको अन्तिम सोमबार भारतको एक मन्दिरमा भागदाैड मच्चिँदा ७ जनाको मृत्यु भएको छ। बिहारको जेहानाबाद जिल्लामा रहेको बाबा सिद्धेश्वर नाथ मन्दिरमा सोमबार भागदौड मच्चिएको हो। यस्तै, १६ जना घाइते भएको टाइम्स अफ इन्डियाले जनाएको छ। घटना सोमबार बिहान सूर्योदयभन्दा पहिल्यै भएको बताइएको छ।

मन्दिर बाहिर फूल बेच्नेहरूबीच भएको झगडाका कारण भागदाैड मच्चिएको प्रत्यक्षदर्शीले बताएका छन्।

जेहानाबाद एसडीओ विकास कुमारले भने, "यो दुखद घटना हो। सबै व्यवस्था मिलाइएको थियो। हामी अवस्थाको अध्ययन गरिरहेका छौँ। अहिलेसम्म ७ जनाको मृत्यु भएको पुष्टि भएको छ। १० भन्दा बढी घाइते छन्।"

जेहानाबादका एसएचओ दिवाकर कुमार विश्वकर्माले भने, "डीएम र एसपी घटनास्थलमा पुगेका छन् र स्थितिको बारेमा जानकारी लिइरहेका छन्। कुल ७ जनाको मृत्यु भएको छ।"

मृतक र घाइतेका परिवारलाई भेटेर जानकारी लिइरहेको उनले बताएका छन्। "मृतकको सनाखत गर्ने प्रयास भइरहेको छ। त्यसपछि शव पोष्टमार्टमका लागि पठाउनेछौँ," उनले भने।

घाइतेहरूको जेहानाबाद सदर र मखदुमपुर सदर अस्पतालमा उपचार भइरहेको छ। घटना मखदुमपुर प्रहरी चौकी क्षेत्रमा भएको हो।