डम्बर केही वर्ष रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगे तर पछिल्लो सात वर्षदेखि निरन्तर शहर–बजारमा एक्लै सारंगी रेटेर जीविकोपार्जन गर्दै आएका छन्।
बाँके– जाजरकोट नलगाड नगरपालिकाका ५३ वर्षीय डम्बर गायन नेपालगन्जमा सारंगीको धुनसँगै विरहका भाका सुनाउँदै आएका छन्। गाउँ–गाउँमा खबर सुनाउँदै हिँड्ने गाइने दाइको अभाव खड्किरहेका बेला डम्बरले पुर्ख्यौली जातीय पेसालाई निरन्तरता दिँदै जीविकोपार्जन गर्दै आएका छन्। उनले परम्परागत जातीय पेसाबाट आफ्नो चार जनाको परिवारको गर्जो टार्ने गरेको बताए।
काँधमा कालो झोला, गलामा सारंगी भिरेर नेपालगन्जका विभिन्न गाउँ घुम्ने डम्बरले सारंगी रेटेर गीत गाउँदै दैनिक पाँच सयदेखि सात सय रुपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिए। नेपालगन्जमा मात्र नभई कोहलपुर, खजुरा, सुर्खेतको वीरेन्द्रनगर, छिन्चु, बर्दियाको गुलरिया, भुरीगाउँ, बाँसगढी, दाङको लमही, घोराही र तुलसीपुरमा समेत पुग्ने गरेको उनले बताए।
१२ वर्षको उमेरदेखि सारंगी भिरेर विभिन्न जिल्लाका गाउँ–गाउँमा गीत गाउँदै आएका डम्बर परिवारको हातमुख जोड्नका लागि सारंगी रेट्दै नेपालगन्ज छिरेका हुन्। उनले गीतमार्फत आफ्नो दुखेसो पोख्दै सहयोगका लागि आग्रह गर्छन्।
“शहरमा हाम्रो गीत कसैले सुन्छन्, कसैले वास्तै गर्दैनन्। जसोतसो घरखर्च संकलन हुँदै हराएको छ,” डम्बरले भने, “मागेर खान नभई आफ्नो संस्कृति र पेसालाई जोगाउन सारंगी रेट्दै विरहका गीत गाउने गरेको छु। यो पेसाबाट मलाई गर्व महसुस हुने गर्दछ।”
बीचमा केही वर्ष रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगेको बताउँदै उनले पछिल्लो सात वर्षदेखि निरन्तर शहर–बजारमा एक्लै सारंगी रेटेर जीविकोपार्जन गर्दै आएको जानकारी दिए। सूचना र सञ्चारको पहुँचसँगै ग्रामीण क्षेत्रमा पाश्चात्य गीत संगीतको प्रभाव बढ्दै गइरहेका उनको बुझाइ छ।
शहरमा सारंगी रेटेर विरहका भाकासँगै डम्बरले विकास निर्माण, जनप्रतिनिधिप्रतिको निराशा र सामाजिक बेथितिका गीतसमेत गाउँदै आएका छन्। बर्दियाको बढैयाताल गाउँपालिका–४ सुन्दरबस्तीमा अस्थायी बसोबास गर्दै आएका डम्बरले बदलिँदो समयसँगै नयाँ पुस्ताले पुर्ख्यौली पेसाबाट जीविकोपार्जन सम्भव नदेखेपछि अन्य पेसा अँगाल्दै गएका बताए।
समसामयिक अवस्थालाई सरल शब्दमा सर्वसाधारणले बुझ्ने गरी गीतको माध्यमबाट व्यक्त गर्ने पुर्ख्यौली पेसा अहिले विस्थापित हुँदै गएकामा डम्बरले चिन्ता व्यक्त गरे। कुनै दिन बम्बईका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि विभिन्न युद्धमा वीरगति प्राप्त गरेका खबरको वाहक बनेर गाउँघरमा सारंगी रेट्ने गाइने दाइ हिजोआज देखिन छाडेका उनको भनाइ छ।
रेडियो, पत्रपत्रिका, टेलिभिजन, मोबाइल फोनलगायत अत्याधुनिक सूचना प्रविधिको विकासले आफूहरूले पुर्ख्यौली पेसा परिवर्तन गर्न बाध्य भएको डम्बरले गुनासो गरे। नेपाली मौलिक लोक संस्कृति र पुर्ख्यौली पेसा संरक्षण गर्न स्थानीय, प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्नेमा उनले जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
