चितवन-२ बाट निर्वाचित रवि लामिछानेले खानेपानी, सडक निर्माणजस्ता काममा श्रमदान गरेका तस्वीर सामाजिक सञ्जालमा राखिरहँदा कतिपयले जिम्मेवारी भुलेर 'पपुलिस्ट' हुने बाटोमा हिँडेको भन्दै आलोचना गरेका छन्।
काठमाण्डौँ- “म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउँछु”, चितवन-२ बाट निर्वाचित भएको औपचारिक घोषणा भएलगत्तै लामिछानेले फेसबुक स्टेटस लेखेका थिए।
निर्वाचित भएपछि लामिछानेले दुई दिनसम्म चितवनका विभिन्न ठाँउमा ‘धन्यवाद सभा’ गरे। 'राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन' भन्दै उनले धन्यवाद सभा गरेका हुन्। धन्यवाद सभाको अन्त्यसँगै उनले आफ्नो निर्वाचन खर्च पनि सार्वजनिक गरेका थिए। निर्वाचनमा ११ लाख ८१ हजार ४७२ रुपैयाँ खर्च भएको उनले बताएका छन्।
निर्वाचनको पूर्ण परिणाम आइसकेको छैन। निर्वाचन आयोगले आगामी पूर्ण मत परिणाम मंसिर २८ मा मात्र बुझाउने जनाएको छ। यसबीचमा रवि लामिछाने के गर्लान् र राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलसँगको सम्बन्ध कसरी अगाडि बढाउलान भन्ने धेरैलाई चासो छ।
तर, निर्वाचित भएपछि छोटो समयलाई मात्र काठमाडौँ आएका लामिछाने अहिले आफ्नो निर्वाचन क्षेत्रमै व्यस्त छन्। आफूले श्रमदान गरेका तस्वीर उनी सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्।
चुनाव जितेपछि संसद् बैठक शुरू हुन समय लाग्ने भन्दै उनले आफूले विकास निर्माणका लागि तत्काल काम शुरू गर्ने घोषणा गरेका थिए। अन्तिम नतिजा आएको तीन दिनपछि नै उनले चितवन-२ को इच्छाकामना गाउँपालिकामा विद्युत नपुगेको ठाउँमा मंसिरभित्रै लाइन विस्तार गर्ने बताए। वडा नं. २, ३, ४, ५, ६ र ७ मा विद्युतीकरणका लागि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गर्न पुगेका थिए। घिसिङसँग भेटेको तस्वीर सार्वजनिक गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अब छिटोभन्दा छिटो मेरो निर्वाचन क्षेत्रका नागरिकले टुकी बाल्नु पर्ने अवस्थाको अन्त्य हुनेछ।”
घिसिङलाई भेटेकै दिन उनले चितवनका किसानले वर्षौँदेखि भोगेको रासायनिक मलको अभाव अन्त्यका लागि कृषि सामाग्रि कम्पनी लिमिटेड पुगेर मल आयातको अवस्था , भण्डारण र वितरणको अवस्था निरीक्षण गरेका थिए। उनले फेसबुकमा लेख्दै भने, “दुवै भेटघाट निकै फलदायी भयो।”
सांसदको सपथ नलिँदै विद्युत विस्तार र मल अभावबारे वार्ता गर्दै हिँडेको भनेर सामाजिक सञ्जालमा लामिछानेको आलोचना पनि भएको थियो। सांसदले नीति निर्माणमा ध्यान दिनुपर्ने उनीहरूको तर्क थियो।
तर, लामिछाने रोकिएनन्। बरू उनले आफ्नो निर्वाचन क्षेत्रमा श्रमदान गरिरहेको तस्वीर सामाजिक सञ्जालमा राखे। “हो, विधायकको काम नीति निर्माणमा नै ध्यान दिने हो। तर, काम गर्न र गराउन फिल्डमा खट्नु पनि पर्छ। हामी भुईं मान्छेका मान्छेहरू हौँ, भुईं छोड्ने त कुरै आउँदैन नी”, उनले तस्वीरसहितको स्टेटसमा लेखेका छन्, “नीतिहरू कागजमा मृत भएर बस्नु हुन्न, नागरिकले महसुस गर्ने गरी लागू पनि हुनुपर्छ। त्यसैले हामी संसद् र सडक दुवै तिर हुन्छौँ।”
संसद् र सडक दुवैतिरै हुने लामिछानेको भनाइमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल पनि सहमत छन्। “हामी संसद् र सडक दुवै ठाँउमा खबरदारी गर्ने भएकाले नै हाम्रो पार्टीलाई फरक भनेका छौँ”, अर्याल भन्छन्, “हामी नीति नियम पनि बनाउछौँ, सडकमा पनि हुन्छौँ। हामी काम गर्ने मान्छे हौँ, त्यसैले कामै बढी रुचाउछौँ।”
कतिपयले भने लामिछानेको शैलीलाई धरान उपमहानगरका प्रमुख हर्क साम्पाङसँग तुलना गरेका छन्। शनिबार लामिछाने पानी ल्याउने ठाउँ सफाइ गर्न डोजरसँगै रामनगर जुगेडी पुगेका थिए। डोजरअगाडि उभिएर खिचेको तस्वीर उनले फेसबुकमा पनि राखेका थिए।
उनको त्यो स्टेटसमा सोमनाथ घिमिरेको प्रतिक्रिया यस्तो छ, “रविज्यू, राष्ट्रिय राजनीतिमा तपाईंको भूमिका र गम्भीर मुद्दाहरूमा सुस्पष्ट दृष्टिकोणको बारेमा चासो व्यक्त भैरहेको बेला त्यता अलमलिनु राम्रो होइन। नेताले त जागरण ल्याउने हो, बत्ती बाल्न लगाउने हो, बत्तीको स्विच अन/अफ गर्ने होइन। परम्परागत राजनीति र दृस्टिकोणविहीन अतिवादी हर्क साम्पाङ प्रवृत्तिबाट तपाईंको पुस्ताले राजनीतिलाई मुक्त गर्नु पर्दछ।”

स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा हर्क साम्पाङ निर्वाचित भएलगत्तै श्रमदान थालेका थिए। कार्यालयमा भन्दा धेरै फिल्डमा भेटिने साम्पाङको कतिपयले आलोचना पनि गर्छन्। ‘मेयरको काम ढुंगा बोक्ने होइन’ भन्दै अहिले पनि टिप्पणी हुन्छ।
लामिछानेलाई आलोचना गर्नेले पनि नीति नियम बनाउनतर्फ ध्यान दिन भनेका छन्। प्रकाश लामिछाने रविको फेसबुक स्टेटसमा यस्तो प्रतिक्रिया दिएका छन्, “बन्धु! कामको उच्च समान गर्दछु। तर संघीय संसदको सदस्य नीति निर्माता हो, न कि वडाध्यक्ष जस्तो पानीपँधेरोको राजनीतिमा अल्झिने व्यक्ति! तपाईंलाई नागरिकको भौतिक सेवामा रमाउने इच्छा थियो भने भरतपुरको मेयर आँटेको भए हुन्थ्यो! सांसदको रूपमा बरु यतिबेला नागरिकसँग नीति-संवाद गरेको भए प्रभावकारी हुन्थ्यो, तपाईंको दलले लिएको प्रदेशको हालको संरचनासँगको विमतिबारे बहस चलाउने र पैरवी गर्ने काम गरेको भए हुन्थ्यो! साह्रै पपुलिष्ट राजनीतिमा त लाग्नुभएन कतै?”

तर, रास्वपा उपसभापति अर्याल संसद् नचलेको बेला जनताको काम गर्नुलाई अन्यथा लिन नहुने बताउँछन्। भन्छन्, “नीति बनाउने संसद अहिले चलेको छैन। नीति बनाउने ठाँउमा नगएर हामी बिदा बसेर पनि गएको होइन। नीति बनाउने ठाउँमा जानुपर्दा हामी त्यहाँ पक्कै पनि उपस्थित हुनेछौँ”
रास्वपाले पार्टीभित्र अनौपचारिक तवरबाट आन्तरिक छलफल बढाए पनि त्यसलाई औपचारिकता दिएको छैन। पूर्णरुपले मतदान सकिएपछि मात्रै केन्द्रीय कमिटीको बैठक बस्ने उपसभापति अर्यालले जानकारी दिए। त्यतिबेलासम्म जनतामाझ नै हुने उनको भनाइ छ।
रविले आइतबार फेसबुक स्टेटस लेखेका छन्, “हाम्रो राजमार्गमा ढंगका शौचालय छैनन्। दिशापिसाब गर्न छिर्दा वान्तासमेत आउँछ। विशेषगरी महिला दिदिबहिनीहरूलाई अत्यन्त गार्हो हुने गरेको छ। यसलाई मध्यनजर गर्दै हाललाई १२ वटा गुणस्तरीय रेस्ट एरिया बनाउने सन्दर्भमा राज्यलाई अत्यन्तै कम भार पर्ने गरि द्रुत गतिमा काम अगाडि बढेको छ। महिलाहरूले वर्षौँ भोगेको असहजताको अन्त्य गर्न हामी प्रतिवद्द छौँ। प्रचार होइन अपडेट गरेको।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
