एकैदिन ७०० आप्रवासी बेलायत प्रवेश

प्रधानमन्त्री स्टार्मरले सत्ता सम्हालेयता आइतबार मात्रै स–साना डुंगामार्फत ७०० भन्दा बढी आप्रवासी बेलायती भूमिमा प्रवेश गरेका छन्।

तस्वीर : एपी/फाइल

प्रधानमन्त्री कियर स्टार्मरले सत्ता सम्हालेयता आइतबार मात्रै साना डुंगामा चढी ७०० भन्दा बढी आप्रवासीले ‘इङ्लिस च्यानल’ पार गरी बेलायती भूमिमा प्रवेश गरेका छन्। स–साना डुंगामा इङ्लिस च्यानल पार गर्नुलाई अत्यधिक जोखिमपूर्ण यात्रा मानिन्छ।

गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार आइतबार ११ वटा डुंगामा ७०३ आप्रवासी बेलायत प्रवेश गरेका छन्। जुलाईमा भएको बेलायतको आमचुनावमा साना डुंगामार्फत हुने आगमन रोक्नु एउटा प्रमुख अजेन्डा थियो।

सत्ता सम्हालेको केही दिनमै स्टार्मरले आप्रवासीलाई रुवान्डा पठाउने विवादास्पद योजना खारेज गरेका थिए। यो योजना पछिल्लो कन्जरभेटिभ सरकारको ‘फ्ल्यागसिप’ नीति थियो। यसको साटो स्टार्मरले ‘क्रसिङ’लाई व्यवस्थित गर्ने र प्रत्येक आप्रवासीले हजारौँ युरो भुक्तानी गर्ने मानव तस्करी गिरोहलाई ध्वस्त पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जुलाई २९ मा तीन जना बालबालिकाको ज्यान जाने गरी भएको छुरा प्रहार र एक मुस्लिम आप्रवासीसँग आक्रमणकारी सामाजिक सञ्जालमा गैर–कानूनी तरिकाले जोडिएको घटनापछि बेलायतमा आप्रवासीविरोधी अशान्ति बढेको समय पछिल्लो तथ्यांक सार्वजनिक भएको हो। आप्रवासनसँग सम्बन्धित मस्जिद र होटललाई लक्षित गरी गरिएको दंगाको विरोधमा शनिबार बेलायतभर हजारौँ रंगभेद विरोधी प्रदर्शनकारीले र्‍याली निकालेका थिए।

फ्रान्सेली अधिकारीहरूले यस वर्षको शुरूदेखि नै खतरनाक समुद्री यात्रामा ज्यान गुमाउनेको संख्या २५ पुगेको बताएका छन्। स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले गैरकानूनी आप्रवासीको संख्यामा भएको वृद्धिलाई नियन्त्रण गर्न ‘सहकार्य’लाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

सीमा पार गर्ने व्यक्तिको पछिल्लो संख्यासँगै सन् २०२४ को शुरूदेखि च्यानल पार गरी बेलायततर्फ जाने आप्रवासीको संख्या १८ हजार ३४२ पुगेको छ। यो गत वर्षको सोही समयको तुलनामा १३ प्रतिशतले बढी हो।