भेरीमा बढ्यो बहाव, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

लगातारको वर्षाका कारण ठूलीभेरी र सानीभेरी नदीमा जल सतह बढेकाले तटीय क्षेत्र आसपासका बस्तीमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिए।

रुकुम पश्चिम– लगातारको वर्षाका कारण ठूलीभेरी र सानीभेरी नदीमा जल सतह बढेको छ। ठूलीभेरी र सानीभेरी नदीको सतह बढेसँगै तटीय क्षेत्र आसपासमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। 

ठूलीभेरी र सानीभेरी नदीको सतह बढेसँगै रुकुम पश्चिमको आठबिसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाका तटीय क्षेत्र आसपासका बस्ती उच्च जोखिममा परेको बताएको छ।

पछिल्लो केही दिनयता निरन्तर वर्षाका कारण सानीभेरी नदीको बहाव बढेकाले नदी क्षेत्र आसपासमा बस्ने स्थानीयलाई सचेत रहन आग्रह गरिएको सानीभेरी गाउँपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिए। उनका अनुसार नदीको बहाव बढेकाले नदी आसपासका स्थानीयलाई माछा मार्ने, काठ संकलन गर्नेजस्ता क्रियाकलाप नगर्न पनि आग्रह गरिएको छ। 

त्यस्तै, आठबिसकोट नगरप्रमुख रवि केसीले पनि नदीमा पानीको बहाव बढेकाले आसपासमा रहेका बस्ती तथा स्थानीयलाई सतर्कता रहन आग्रह गरिएको बताए। अविरल वर्षाका कारण बाढी मापन केन्द्र गज रिडरमा ठूलीभेरी तथा सानीभेरी नदीमा सतह बढेको देखिएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ। 

नदीको तटीय क्षेत्र आसपासका बस्ती विपत्को उच्च जोखिममा रहेकाले सो क्षेत्र आसपासमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिए। शनिबारदेखि रुकुम पश्चिममा लगातार पानी परिरहेकाले जिल्लावासीलाई बाढी र पहिराबाट हुनसक्ने क्षतिबाट बच्न अनुरोध गरिएको उनले जानकारी दिए।