व्यावसायिक बाख्रा पालनतर्फ नवलपरासीका किसान

तुलनात्मक रूपमा बाख्रापालनमा कम मेहनत लाग्ने र छिटो नगद आम्दानी हुने भएकाले किसान यसतर्फ अग्रसर भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

मध्यविन्दु– बर्दघाट सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित भएका छन्। कम समयमा बढी आम्दानी हुने भएपछि बाख्रापालन गर्ने किसान, व्यावसायिक फार्म र उत्पादित खसीबोका वृद्धि भएको छ। 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख ऋषभ गुरागाईंका अनुसार बाख्रापालन गर्ने किसानको संख्यामा उल्लेख्य वृद्धि भएको र यसले उत्पादन पनि बढेको पाइएको छ। “आव २०८०/८१ मा नयाँ १८ बाख्रा फार्म दर्ता भई सञ्चालनमा आएका छन्। अहिले जिल्लामा व्यावसायिक बाख्रा फार्मको संख्या २७४ पुगेको छ,” उनले भने, “अघिल्लो वर्ष दर्ता भएका बाख्रा फार्म २५६ थियो।”

फार्म नै दर्ता गरेर बाख्रापालन गर्नेको अनुपातमा व्यक्तिगत रूपमा खोर बनाएर बाख्रा पाल्ने संख्या अझ उल्लेख्य रहेको पाइएको छ। प्रमुख गुरागाईं भन्छन्, “तुलनात्मक रूपमा बाख्रापालनमा कम मेहनत लाग्ने र छिटो नगद आम्दानी हुने भएकाले यसतर्फ अग्रसर भएको देखिन्छ।”

बाख्रापालन गर्ने किसानको सङ्ख्या बढेसँगै यहाँ मासुको उत्पादन पनि बढेको पाइएको छ। २०७९/८० मा खसीबोकाको मासु ५८१ मेट्रिक टन उत्पादन भएको थियो। गत आवमा ९५ मेट्रिक टनले वृद्धि भएको छ। उत्पादन भएका खसीबोका किसान आफैँले बिक्री गर्ने गरेका छन् भने केही सहकारीमार्फत संकलन गरेर बिक्री गर्ने गरिएको छ।