मुआब्जाको माग गर्दै भानुभक्त प्राणी उद्यानमा स्थानीयको तालाबन्दी

प्राणी उद्यानले अधिग्रहण गर्ने जग्गा, घरटहरा, खेतबारीको मुआब्जा निर्धारण गर्ने काम सकिएको छ। यसका लागि ४६ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने जनाइएको छ।

दमौली– भानुभक्त प्राणी उद्यानका जग्गाधनीले मुआब्जाको माग गरेका छन्। उनीहरूले भानुभक्त प्राणी उद्यानको मुख्य कार्यालयमा तालाबन्दी तथा जिल्ला प्रशासन कार्यालय तनहुँमा धर्नासमेत दिएका छन्। 

यसअघि गत मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए। व्यास नगरपालिका–११ र १२ तथा भानु नगरपालिका–५ र ६ का आठवटा सामुदायिक वन, पाँचवटा कबुलियती वन, सरकारद्वारा व्यवस्थित राष्ट्रिय वनको आंशिक क्षेत्र तथा खोलानाला र सो क्षेत्रभित्रका एक हजार ९४६ स्थानीय निजी घरजग्गालाई समेत समेटी ४२५ हेक्टर जग्गामा भानुभक्त प्राणी उद्यान खोल्ने भनी सरकारले २०७३ माघमा निर्णय गरेको थियो। 

निर्णयपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेको घरजग्गा मूल्यांकन समितिले गरेको मूल्य निर्धारण भएको चार वर्ष भइसकेको समन्वय समितिका संयोजक हर्कबहादुर कार्कीले बताए। मुआब्जाका लागि धेरैपटक अनुरोध र संघर्ष गरिए पनि हालसम्म सुनुवाइ नभएको उनको भनाइ छ। 

वन मन्त्रालय, वन्यजन्तु संरक्षण विभागलगायत प्रधानमन्त्री, राष्ट्रपति समक्षसमेत समिति पुगेर मुआब्जाका लागि अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको संयोजक कार्कीले बताए। “मुआब्जाको सुनुवाइ नहुँदा कतिपय बासिन्दा घरवारविहीन भई सडकमा आउनुपर्ने अवस्था छ,” उनले भने, “राज्य पक्षबाट गम्भीर अन्यायमा परेको हुँदा साउन १८ मा बसेको स्थानीय बासिन्दा तथा सम्पूर्ण जग्गाधनीको बैठकले आन्दोलनको घोषणा गरेको हो।” 

रैथाने र गैररैथाने वन्यजन्तुको संरक्षण गर्ने, वन्यजन्तु संरक्षणमार्फत आमोदप्रमोद प्रदान गर्ने, वन्यजन्तुको वैज्ञानिक अध्ययन, अनुसन्धान गर्ने उद्देश्यसहित स्थापना भएको प्राणी उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको थियो। प्राणी उद्यानले अधिग्रहण गर्ने जग्गा, घरटहरा, खेतबारीको मुआब्जा निर्धारण गर्ने काम सकिएको छ। यसका लागि ४६ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने जनाइएको छ।

प्राणी उद्यानभित्र परेका १२६ जग्गाधनीको ९६१ रोपनी जग्गा अधिग्रहण गरिनेछ। त्यसका लागि ४३ करोड ८७ लाख नौ हजार ४४३ मुआब्जा निर्धारण गरिएको छ। त्यस्तै उद्यानभित्र परेका घरटहराका लागि ५८ लाख सात हजार ५७९ र छुट भएका १६ जग्गाधनीको जग्गा अधिग्रहणका लागि दुई करोड ६ लाख ८४ हजार ७०७ मुआब्जा निर्धारण गरिएको छ। 

प्राणी उद्यानको सिमानमा तारबार लगाउने काम भने सम्पन्न भइसकेको छ। गुरुयोजनाअनुसार यहाँ दुई इलाका, चार क्षेत्र र आठ शाखा कल्पना गरिएको छ। इलाकाअन्तर्गत संरक्षण इलाका र उपयोग इलाका रहनेछ। क्षेत्रअन्तर्गत प्रशासनिक, प्रदर्शनी, शान्ति र आध्यात्मिक र उद्धार र अनुसन्धान रहनेछ। शाखाअन्तर्गत ठूला शाकाहारी, शाकाहारी, पक्षी, सर्वाहारी, सरीसृप, साना स्तनधारी, मांसाहारी र भालु शाखाको कल्पना गरिएको छ। 

प्राणी उद्यान ४२५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ। प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ। प्राणी उद्यानले २९७.४७ हेक्टर संरक्षण इलाका र १२७.५३ उपयोग इलाका निर्धारण गरेको छ। संरक्षण इलाकाभित्र घना वनक्षेत्र, भिरालो र पहुँच नभएको क्षेत्र पर्छ भने उपयोग इलाकाभित्र कम भिरालो, पानीका स्रोत पर्छ। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा प्राणी उद्यान घोषणा गर्ने प्रावधान भएकाले चुनौती देखा परेको संरक्षण अधिकृत पन्थले बताए। प्राणी उद्यानले गुरुयोजनाबमोजिम कार्यसञ्चालन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा प्राणी उद्यान स्थापना र व्यवस्थापनसम्बन्धी व्यवस्था गर्न पहल गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।