बांग्लादेशमा १३ वर्षयताकै उच्च मूल्यवृद्धि

खाद्य मूल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ। जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो। 

बांग्लादेशको मुद्रास्फीति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ। यो १३ वर्षयताकै सबैभन्दा बढी वृद्धिदर रहेको बांग्लादेशको तथ्यांक विभाग (बीबीएस) ले जनाएको छ।

 मुख्यतया खाद्यान्नको मूल्यवृद्धिका कारण मूल्यवृद्धिदर अस्वाभाविक रूपमा बढेको विभागको तथ्यांक छ । गत जुनमा मूल्यवृद्धिदर ९.७२ प्रतिशत रहेको थियो। बीबीएसका अनुसार खाद्य मूल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ। जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो। 

यसैगरी, जुन महिनामा पनि खाद्य मूल्यवृद्धिदर १०.४२ प्रतिशत थियो। गैर–खाद्य पदार्थको मूल्य वृद्धिदर पनि जुनमा ९.१५ प्रतिशतबाट बढेर जुलाईमा ९.६८  प्रतिशत पुगेको छ।

आर्थिक वर्ष २०२३–२४ मा देशको औसत मूल्यवृद्धिदर बढेर ९.७३ प्रतिशत पुगेको छ जुन आर्थिक वर्षका लागि तय भएको बजेटको लक्ष्यभन्दा धेरै हो।

तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०२२–२३ मा बांग्लादेशको मूल्यवृद्धिदर ९.०२ प्रतिशत रहेको थियो।