माओवादीले सुध्रिने प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा कार्यान्वयन गर्न नसक्दा जनाधार कमजोर हुँदै गएको नेताहरूको बुझाइ छ।
काठमाडौँ– नेकपा माओवादी(केन्द्र)ले गठबन्धनलाई निरन्तरता दिने विषयलाई पहिलो प्राथमिकतामा राखेको छ।
मंसिर ४ को निर्वाचनपछि बसेको माओवादी केन्द्रको अनौपचारिक पदाधिकारी बैठक गठबन्धनलाई नै कायम राख्ने विषयमा केन्द्रित भएको छ। शनिबार र आइतबार बसेको बैठकले कायम गठबन्धनलाई नै अघि बढाएर लैजानुपर्ने निष्कर्ष निकालेको छ।
आइतबार बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महासचिव देव गुरुङले पार्टीले गठबन्धनको विकल्पका बारेमा अहिले नै नसोचेको बताए। “सरकार गठनको बारेमा विषय प्रवेश भएको छैन। गठबन्धनमा नै रहेको हुनाले त्यसमै रहेर अघि बढ्ने कुरा त भई नै हाल्यो”, उनले भने, “गठबन्धनको बैठकमा समीक्षा गरेपछि कसरी अगाडि बढ्ने भन्ने धारणा बन्छ।”
शनिबारको बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले एमाले लगायतका दलसँग मिलेर जाने विकल्प पनि खुल्ला रहेको बताएका थिए। तर, आइतबारको बैठकपछि महासचिव गुरुङले प्रवक्ताको भनाइ सच्चाएका छन्। “गठबन्धनको विकल्पका बारेमा अहिले सोचिएको छैन। पहिलो प्रयास त्यहीभित्र हुन्छ”, उनले भने, “हिजो प्रवक्ताज्यूले कुन प्रसंग र सन्दर्भमा प्रकट गर्नुभएको त्यो बुझ्न पाइएको छैन।”
उनले गठबन्धनमा अहिले नै कुनै विमति र असहमति पैदा भइनसकेकाले विकल्पको आवश्यकता नरहेको प्रस्ट्याए।
नेता हरिबोल गजुरेल पनि अहिले गठबन्धनको विकल्प नभएको बताउँछन्। “हामीले पार्टीको अनौपचारिक बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा गरेका छौँ। गठबन्धनको बारेमा अन्य कुरा भएको छैन”, उनले भने,“स्थिर सरकार बनाउँछौँ भनेर गठबन्धन गरेको हो। अहिले बीचमा छोडेर जाने भन्ने कुरा हुँदैन।”
आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पनि सत्ता गठबन्धन कायमै रहने प्रष्ट पारेका थिए। “गठबन्धन अहिले दायाँबायाँ हुने कुरै छैन। यही कायम रहन्छ”, उनको भनाई उद्धृत गर्दै एक नेताले भने,“अहिले तत्काल अन्य विकल्पका बारेमा सोचिएको छैन।”
ती नेताका अनुसार पहिलो प्राथमिकता अहिलेकै गठबन्धनलाई कायम राखेर जाने र त्यसपछि मात्रै अन्य विकल्पमा छलफल अघि बढाउनुपर्नेमा नेताहरूको जोड रहेको छ।
औपचारिक बैठक बसेर गम्भीर समीक्षा गर्नुपर्ने नेताहरूको जोड
नेकपा माओवादी केन्द्रका लागि मंसिर ४ मा भएको निर्वाचनबाट प्राप्त भएको नतिजा अपेक्षाकृत छैन। प्रत्यक्ष र समानुपातिक तर्फको मत परिणामले माओवादी केन्द्रभित्र पार्टीलाई शुद्धीकरण र व्यवस्थित बनाएर लैजानुपर्ने बहस पनि शुरूआत गराएको छ। शनिबार र आइतबार बसेको पदाधिकारीको अनौपचारिक बैठकमा पनि यस विषयमा नेताहरूले धारणा राखेका छन्।
स्वयम् बैठकपछि महासचिव देव गुरुङले पनि निर्वाचनबाट अपेक्षाकृत परिणाम नआए पनि सुधार गर्दै जानुपर्ने धारणा व्यक्त गरेका छन्। “निर्वाचनबाट कतिपय अपेक्षाकृत रूपमा परिणाम नआए पनि परिणाममुखी नै भन्न मिल्छ। सुधार गर्दै अगाडि बढ्नुको विकल्प छैन”, उनले भने,“कमी कमजोरी के के भए भन्ने कुरा आगामी दिनमा सुधार गर्दै पार्टीलाई सशक्त बनाउनुपर्ने निष्कर्ष छ।”
तर, माओवादीका अर्का पदाधिकारी भने पार्टीभित्र गम्भीर समीक्षा मात्रै होइन शल्यक्रिया नै गर्नुपर्ने अवस्थामा माओवादी आइ पुगेको बताउँछन्।
“पार्टीको वैचारिक राजनीतिक कुरा नै स्पष्ट भएन। अन्य पार्टी भन्दा फरक भएकाले ०६४ को निर्वाचनमा जनताले जनमत दिएका थिए। अहिले खुम्चिँदै जानुपर्ने स्थिति बनेको छ”, ती पदाधिकारीले भने,“कमजोरी के हो भनेर गम्भीर समीक्षा त गर्नुपर्छ। हामीले भूमिका ठिक हिसाबले निर्वाह गर्न सकेऊ कि सकेनौँ भन्ने समीक्षा त हुनुपर्यो नि।” उनले सुध्रिने प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा कार्यान्वयन गर्न नसक्दा माओवादीको जनाधार कमजोर हुँदै गएको पनि बताए।
केही पदाधिकारीले बैठकमा पार्टीको विशेष महाधिवेशन बोलाएर पार्टी पुनःगठन गर्नुपर्ने धारणा पनि राखेका थिए। “सांगठनिक संरचनालाई हामीले व्यवस्थित बनाएर लैजान सकेनौँ। दिनप्रतिदिन माओवादी कमजोर हुँदै जाँदा पनि गम्भीर भएर सोचेनौँ भने के हुन्छ”, बैठकमा एक नेताले भने,“अरूको बलमा होइन अब आफ्नै बलमा निर्वाचन लड्ने गरेर जाने पार्टी बनाउन लाग्नुपर्छ।”
बैठकमा पदाधिकारीहरूले धारणा राखेपछि अध्यक्ष दाहालले बैठकमा आएका प्रस्तावलाई एकीकृत गरेर पार्टीको औपचारिक बैठकमा छलफल गर्ने बताएका थिए। उनले सबै पदाधिकारीले राखेका धारणालाई टिपोट गरेर राखेको र अबका बैठकमा ती विषयमा धारणा सार्वजनिक गर्ने प्रष्ट्याएका छन्। सचिव लीलामणि पोखरेलले पनि अनौपचारिक बैठकमा उठेका विषयलाई अध्यक्षले प्रस्तावका रूपमा ल्याउने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
