वन्यजन्तु आतंकले बाली जोगाउनै मुस्किल

बँदेलबाट अन्नबाली जोगाउन स्थानीय रातभरि आलोपालो कुरुवासमेत बस्ने गरेका छन्। स्थानीय दीपक बस्ताकोटीका अनुसार बँदेल आतंकले गाउँलेसमेत घरमा बस्न डराउँछन्। 

काभ्रेपलान्चोक– वन्यजन्तुले बालीमा क्षति पुर्‍याएपछि यहाँको भुम्लु गाउँपालिका–९ का स्थानीय निवेदन लिएर वडा कार्यालय पुगेका छन्। बालीको क्षति विवरणसहित वडा कार्यालयमा स्थानीय पुगेका हुन्। 

वन्यजन्तुबाट अन्नबालीमा मात्र नभई मानिसलाई समेत खतरा भएपछि उनीहरू वडा कार्यालय र जनप्रतिनिधिकहाँ गुनासो लिएर पुगेका हुन्। वडा अध्यक्ष दलबहादुर तामाङले वन्यजन्तुबाट मान्छेकै ज्यान खतरामा परेको बताए। “विशेष गरी साँझ–बिहान स्यालको आतंकले एक्लै हिँड्नै गाह्रो हुँदै गएको छ,” उनले भने। उनका अनुसार बाँदर, स्याल, दुम्सी र बँदेलको समस्या धेरै देखिएको छ। 

कोशी पूर्वस्थित भुम्लु र चौँरीदेउराली गाउँपालिकामा मकैबालीमा बाँदरको आतंक धेरै छ। स्यालको संख्या पछिल्लो समय वृद्धि भएकाले समस्या समाधान गर्न नसकिएको तामाङले बताए। उनले यस विषयमा गाउँपालिकामा निवेदन दिएको र गाउँपालिकाको विपद् व्यवस्थापन समितिमार्फत अनुगमन गरेर क्षतिपूर्ति दिने आश्वासन प्राप्त गरेको जानकारी दिए। 

केही वर्ष अघिसम्म प्लास्टिकको बन्दुक पड्काएर बाँदरलगायत वन्यजन्तु भगाउने गरिएकामा हाल सोही खालका बन्दुक पड्काउँदा पनि बाँदर अटेर गर्ने गरेको स्थानीय रमेश खरेलले बताए। तत्काल वन्यजन्तु समस्याको समाधान खोज्नुपर्ने उनी बताउँछन्। हाल भुम्लु गाउँपालिकाको १, २, ३, ४, ९ र १० वडाका खेतबारीमा बँदेल पसेर अन्नबालीमा क्षति पुर्‍याइरहेको स्थानीयको भनाइ छ। 

गत चैतमा काभ्रेपलान्चोककै पनौती नगरपालिका–५ सुब्बा गाउँको खेतमा रोपिएको आलुखेतीमा बँदेलले क्षति पुर्‍याएपछि स्थानीयले राति खेतमै बास बसेर कुरेको स्थानीय बुद्धिबहादुर थापाले बताए। मल र बीउको अभावबीच रोपिएको आलुमा वन्यजन्तुले क्षति पुर्‍याउँदा यहाँका किसान मारमा छन्। 

गत वर्ष पनौती नगरको कुशादेवी क्षेत्रमा बाँदरले स्थानीयलाई दुःख दिएको थियो। २०८० असारमा मण्डनदेउपुर नगरपालिका–९ स्थित रायोबारीमा चितुवाले योग गंगा वाइल्ड एन्ड च्याटल फार्मका २५० कालिज मारेको थियो। सोही समयमा नगरको १ नं वडास्थित नगरकोट हलेदेमा बँदेलले सयौँ रोपनी जमिनको मकै सखाप पारेको थियो। बँदेलबाट अन्नबाली जोगाउन स्थानीय रातभरि आलोपालो कुरुवासमेत बस्ने गरेका छन्। स्थानीय दीपक बस्ताकोटीका अनुसार बँदेल आतंकले गाउँलेसमेत घरमा बस्न डराउँछन्। 

अघिल्लो वर्ष नगरको १२ वडामध्ये ८ र ९ बाहेक सबै वडामा बाँदरले अन्नबालीमा क्षति पुर्‍याएको थियो। त्यस वर्ष नगरले पहिलो चरणमा १२ नं वडाका स्थानीयलाई बाँदर धपाउने १५ थान यन्त्र उपलब्ध गराएको थियो। पाँचखाल नपा–१३ कोशीदेखाका बासिन्दा पाँच वर्षदेखि बँदेल र बाँदर आतंकबाट आजित छन्। स्थानीय यमलक्ष्मी थपलियाले बँदेल र बाँदरले कटहर र अदुवाबाहेक सबै खाने गरेको बताए। 

स्थानीय जनप्रतिनिधिसँग दुखेसो पोखे पनि समाधानको उपायबारे सहयोग नपाएको थपलियाको गुनासो छ। बनेपा नपा–३ काँक्रेका किसान गोकुल बजगाईं वन बाक्लिँदा जंगली जनावर बढ्दै गएको बताउँछन्। “वनमा बँदेलको संख्या बढ्दा आलुलगायतका खेतीबाली जोगाउन मुस्किल परिरहेको छ,”  उनी भन्छन्।

स्थानीय शिक्षक तुलाप्रसाद दाहालले बँदेल भगाउन बारीमा रेडियो बजाएर राखेको अनुभव सुनाउँछन्। धुलिखेल नगरपालिका–१ देवीटारकी किसान सरस्वती घोरासैनी दुम्सीको क्षतिबाट हैरान छन्। “दुम्सीले बारीको काँक्रो र तरकारीका बोट नै सखापै पार्छ, अहिले पनि बालीमा क्षति पुर्‍याउँछ कि भन्ने जोखिम छ,” उनले भने। 

डिभिजन वन कार्यालय धुलिखेलका अधिकृत न्हुच्छे श्रेष्ठले जिल्लाका अधिकांश वनभित्र बँदेलको संख्या वृद्धि भएकाले किसानसँग द्वन्द्व बढेको बताए। “नीतिमै परिवर्तन नगरेसम्म जंगली जनावरको आतंक न्यूनीकरण गर्न सकिँदैन,” उनले भने। 

उनका अनुसार कार्यालयसँग वन्यजन्तु न्यूनीकरणका लागि कुनै योजना नभए पनि क्षतिपूर्ति दिने काम भइरहेको छ। गएको १४ वर्षमा जिल्लामा जंगली जनावरको आक्रमणबाट १४ जनाको मृत्यु र ६ जना घाइते भएका छन्।