सुन र नीलमणिजडित विश्वकै महँगो लाइटर

राजा लुइस तेह्रौँ युगको पुनर्जागरण शैलीबाट प्रेरित, ‘लुइस तेह्रौँ फ्लेउर डे परमे’ लाइटरलाई शाही मुकुटको रूपमा डिजाइन गरिएको छ।

आगो सल्काउन प्रयोग गरिने लाइटर कति महँगो होला? नेपाली बजारमा २० रुपैयाँमाथि सयदेखि हजार रुपैयाँसम्मका लाइटर पाइन्छन्। तर त्यही आगो सल्काउनकै लागि प्रयोग हुने लाइटरको मूल्य करोडौँ पर्छ भन्दा अचम्म लाग्न सक्छ। हो फ्रान्सेली लक्जरी ब्रान्ड एसटी डुपोन्टले एक दशक पहिले निर्माण गरेको लाइटर अहिलेसम्म विश्वकै महँगो लाइटरमा पर्छ। 

फ्रान्सको इतिहासबारे रूचि राख्ने हङकङका अर्बपति स्टिवन हङको विशेष अनुरोधमा सन् २०१३ मा ‘लुइस तेह्रौँ फ्लेउर डे परमे’ सिगार लाइटरको निर्माण गरिएको थियो। ती व्यापारीले लाइटरमा विशिष्ट आवश्यकताहरू माग गरेका थिए, जसले डुपोन्टलाई स्पष्ट बनायो कि यो परियोजना फ्रान्सेली संस्कृति र इतिहासको घनिष्ठ ज्ञान भएको विशेष डिजाइनरद्वारा मात्र गर्न सकिन्छ। 

लुइस तेह्रौँको वंशज हुन् राजकुमारी तानिया डे बोरबोन परमे। उनी एक प्रख्यात डिजाइनर पनि हुन्। उनले विश्वको सबैभन्दा महँगो त्यही सिगार लाइटर निर्माण गर्न ८० जना कालिगढको टोलीसँग ६ महिना बिताइन्। राजा लुइस तेह्रौँ युगको पुनर्जागरण शैलीबाट प्रेरित, लुइस तेह्रौँ फ्लेअर डि परमे लाइटरलाई खरिदकर्ताले पाँच लाख युरो (७ करोड ३३ लाख रुपैयाँ)मा खरिद गरेका थिए।

यस लाइटरमा टेबुल लाइटर (३ लाख युरो) र पकेट लाइटर (२ लाख युरो) गरी दुई सेट छन्। टेबुल लाइटरलाई शाही मुकुटको रूपमा डिजाइन गरिएको छ। ४०० ग्राम सुनबाट निर्माण गरिएको यस लाइटरमा ४१ क्यारेटका १५२ नीलमणि जडित छन्। यस्तै, पकेट लाइटर २८० ग्राम सुन र ३१ क्यारेटका ५३ नीलमणिजडित छ।

सन् २०१३ मा अनावरण गरिएको, ‘लुइस तेह्रौँ फ्लेउर डे परमे’ चाँडै नै गिनिज बुक अफ रेकर्ड्सद्वारा विश्वको सबैभन्दा महँगो सिगार लाइटरको रूपमा स्वीकृत भएको थियो। एक दशकपछि पनि यो अझैसम्म संसारको सबैभन्दा महँगो सिगार लाइटरको अग्रपंक्तिमा रहेको छ।

उक्त लाइटर विलासी उत्पादन संकलनकर्ताहरूमा यति लोकप्रिय साबित भयो कि एसटी डुपेन्टले कम्तीमा ३१ वटा त्यही स्वरूपका साना लाइटर निर्माण गरेको थियो। जुन प्रतिलाइटर १५ हजार ९०० युरोमा बिक्री भएका थिए।

एसटी डुपेन्टले महँगा सिगरेट लाइटर निर्माण गर्दै आएको छ। लिग्ने २ शैम्पेन लाइटरले पहिलो पटक सन् २००९ मा यसको मूल्यका कारण समाचार हेडलाइन बनाएको थियो। त्यतिबेला उक्त एक लाइटरको मूल्य ७९ हजार ४६१ युरो थियो। उच्च गुणस्तरको पोलियुरेथेनबाट बनेको थियो र १८ क्यारेट सेतो सुनको केसका साथै ४६८ वटा हिराजडित थियो।